नेपाल राष्ट्र बैंकको तेस्रो समीक्षा : लचिलो मौद्रिक नीतिलाई निरन्तरता, अधिकांश व्यवस्था यथावत्
28
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै अधिकांश विद्यमान नीतिगत व्यवस्थालाई यथावत् राखेको छ। राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुसार रहेको तथा आर्थिक वृद्धिदर सुस्त रहेकाले लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ।
राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ। यद्यपि, ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (CRR) तथा वैधानिक तरलता अनुपात (SLR) सम्बन्धी विद्यमान व्यवस्थामा उल्लेखनीय परिवर्तन गरिएको छैन।
समीक्षाअनुसार चालु आर्थिक वर्षको नौ महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य बढेकाले चालु खाता, शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चिति मजबुत बनेको छ। तर, नेपालमा करिब ४० प्रतिशत विप्रेषण पश्चिम एसियाबाट आउने भएकाले त्यहाँ जारी तनावले रेमिट्यान्स, आयात लागत तथा व्यापार घाटामा असर पार्न सक्ने जोखिम औंल्याइएको छ।
राष्ट्र बैंकले मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको जनाएको छ। विश्व भू-राजनीतिक तनावका कारण पेट्रोलियम पदार्थ, कच्चा पदार्थ तथा उपभोग्य वस्तुको आपूर्ति शृंखलामा असर परे पनि उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहने प्रक्षेपण गरिएको छ।
यस्तै, बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढे पनि आर्थिक गतिविधिमा सुधारसँगै यस्तो कर्जा घट्ने अपेक्षा गरिएको छ। प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्रै रहेको राष्ट्र बैंकले जनाएको छ।
विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेको उल्लेख गर्दै राष्ट्र बैंकले त्यसको दीर्घकालीन प्रभाव व्यवस्थापन गर्न आवश्यक कदमप्रति आफू सजग रहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया