विपद व्यवस्थापनका लागि काठमाडौं महानगरको सक्रियता

39 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंमा बढ्दो शहरीकरण र ढलान प्रक्रियाले ‘अर्बान फ्लड’ को जोखिम निम्त्याएको बताउँदै विपद्को समयमा जनधनको क्षति न्युन गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएकाे हाे। महानगरपालिकाले गरेको ‘हजार्ड म्यापिङ’ अनुसार महानगरभित्रका ७४ स्थान मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको र ती क्षेत्रमा समुदायलाई लक्षित गरी विशेष सचेतना तथा तयारीका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल स्काउट, रेडक्रस र विद्यार्थीको सहभागितामा सञ्चालित यस तालिमले विपद्को समयमा ‘फस्र्ट रेस्पोन्डर’ को क्षमता विकास गर्ने अपेक्षा गरिएको छ ।

कार्यवाहक प्रमुख डंगोलले विपद् व्यवस्थापनमा प्रविधि र नवप्रवर्तनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पुल्चोक क्याम्पस (आईओई) ले प्रदर्शन गरेको प्रविधिको प्रशंसा गर्नुभयो । उद्धार कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायबीचको निरन्तर सहकार्यले मात्रै सम्भावित जोखिमलाई कम गर्न सकिने उहाँको भनाइ छ । सिमुलेशन कार्यक्रममा सहभागी ट्रेनीहरूलाई सम्बोधन गर्दै डंगोलले तालिममा सिकेका सीपलाई कार्यक्षेत्रमा प्रयोग गरी नागरिकको जीवन रक्षा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विपद्का बेला अपनाउनुपर्ने सावधानी र उद्धारका विभिन्न विधिहरूको प्रयोगात्मक अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ उपरीक्षक (एसएसपी) ध्रुवबहादुर कार्कीले यस्ता अभ्यास कार्यक्रमहरूले सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपद्को समयमा प्रभावकारी परिचालनमा मद्दत पुग्ने बताउनुभयो । उहाँले यस्ता गतिविधिले मुख्यतया चार पक्षमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभएकाे छ । जसले सुरक्षा जनशक्तिको आत्मविश्वास बढाउनुका साथै क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने बताउनुभयाे । उहाँले विपद्को समयमा विभिन्न निकायहरूबीच हुनसक्ने समन्वयको अन्योललाई हटाउन र भुमिका स्पष्ट पार्न यस्ता अभ्यासले निर्णायक भुमिका खेल्ने बताउनुभएकाे छ ।

विगतका वर्षहरूमा पनि यस्ता अभ्यास सञ्चालन गरिएको जानकारी दिँदै एसएसपी कार्कीले स्थानीय तह (महानगरपालिका) लगायतका अन्य संवद्ध निकायहरूसँगको सहकार्यलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो । हाल मनसुन नजिकिएकाले सशस्त्र प्रहरीको वर्तमान तयारी र ध्यान विशेष गरी मनसुनजन्य विपद् व्यवस्थापनमा केन्द्रित रहेको उहाँको भनाइ छ ।