म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । धवलागिरि-४ मुदीमा रहेको दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्युत् आपूर्ति नहुँदा मुना, मुदी र लुलाङमा सञ्चार सेवा प्रभावित भएको हो ।
मुनाका बासिन्दा नमिता पुनले यही वैशाख २२ गतेदेखि टावरमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा स्थानीयलाई सूचना आदानप्रदान गर्न असहज हुनुका साथै गाउँपालिकाको सेवामा पनि असर परेको गुनासो गरे ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले टेलिकमको टावरमा देखिएको समस्याका कारण इन्टरनेट राम्रोसँग नचलेर योजना तथा आपूर्तिकर्ता र सेवाप्रदायकलाई भुक्तानी गर्न, सूचना आदानप्रदान गर्न समस्या भएको बताए । वैशाख २२ गते परेको चट्याङका कारण मुदीको डाँडामा रहेको टेलिकमको टावरमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।
टावरको वैकल्पिक विद्युत् आपूर्ति गर्ने ‘ब्याकअप’मा पनि चट्याङ्ले क्षति पुर्याएको धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । अध्यक्ष पुनले समस्या भएकै दिनदेखि समाधानका लागि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिरहेको बताए ।
प्राविधिक टोलीले समस्या पहिचान गर्न ढिलाइ गरेको भन्दै उनले थप पहलका लागि सरोकार भएका निकायलाई ताकेता गरिरहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया