काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्षभित्र परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन् ।
आइतबार ललितपुरमा पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले ऐतिहासिक राजनीतिक अवसर प्राप्त गरेको उल्लेख गर्दै त्यसलाई परिणाममा रूपान्तरण गर्न नसके जनतामाझ असफल ठहरिने चेतावनी दिए ।
उनले केही सांसदहरूले पार्टीमा गरेको योगदानको आधारमा व्यक्तिगत अपेक्षा राख्दै आफू कहाँ आउने गरेको उल्लेख गर्दै अहिले योगदानको मूल्य माग्ने समय नभएको स्पष्ट पारे ।
लामिछानेले रास्वपाले छोटो समयमै राजनीतिक उचाइ हासिल गरे पनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताए । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भए पनि अघिल्ला पुस्ताका नेताहरूको संघर्षकै जगमा अहिलेको परिवर्तन सम्भव भएको उनको भनाइ थियो । ‘हामीलाई चुनावमा जाँदा नै बहुमत आउँछ भन्ने थाहा थियो । यति सजिलो संघर्ष दुनियाँमा सायदै कसैले गरेको होला । तर यो सहज बन्नका लागि अघिल्ला राजनीतिज्ञहरूले गरेको संघर्षको जग हामीसँग थियो । अब पाँच वर्ष हामीले काम गरेर देखाउनुपर्छ । अहिले योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन । योगदान त अब दिने हो । यो ऐतिहासिक अवसरलाई परिणाम दिन सकेनौँ भने हामी नालायक भनेर चिनिनेछौँ’ उनले भने ।
सभापति लामिछानेले सांसदहरूलाई आफ्नो अभिव्यक्ति र गतिविधिप्रति जिम्मेवार बन्न आग्रह गर्दै कुनै पनि व्यवहारबाट आम नागरिकको भावना आहत नहुने गरी प्रस्तुत हुन सचेत गराए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया