परम्परा मात्रै होइन, क्षमता पनि हेर्नुपर्छ: प्रधानमन्त्री

15 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताका आधारमा अगाडि रहेका न्यायाधीशहरूलाई छाडेर डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्दा ‘परम्परा’ मात्रै हेरेर बस्न नसकिने तर्क गरेका छन् ।

संवैधानिक परिषद्को बिहीबारको बैठकमा उनले विगतको अभ्यास तोड्दै रोलक्रमको चौथो नम्बरमा रहेका शर्माको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले असहमति जनाएका थिए ।

बैठकमा प्रधानमन्त्रीले अब केवल परम्पराका आधारमा निर्णय गर्न नहुने, न्याय सम्पादन क्षमता र विज्ञतालाई पनि ध्यान दिनुपर्ने भन्दै आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावलाई लिएर बैठकमा केहीबेर तर्कवितर्कसमेत भएको स्रोतले जनाएको छ । अन्ततः दाहाल र आङ्देम्बेले आफूहरू उक्त निर्णयमा सहमत हुन नसक्ने भन्दै लिखित असहमति संवैधानिक परिषद्मा दर्ता गराएका छन् ।

उनीहरूले विधि र स्थापित परम्परा मिचेर प्रस्ताव ल्याइएको भन्दै फरक मत पेश गरेका हुन् ।

यसअघि न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि वरिष्ठताक्रमअनुसार सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र त्यसपछि मनोजकुमार शर्मासहित ६ जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।