अमेरिका र इरान जारी युद्ध अन्त्यका लागि सहमति नजिक

13 Shares

एजेन्सी । अमेरिका र इरान जारी युद्ध अन्त्यका लागि सहमति नजिक पुगेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनीहरूले एक पेजको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन्त्य गर्ने तयारी गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमहरूले १४ बुँदे प्रारम्भिक सहमतिपत्र तयार हुने चरणमा पुगेको जनाएका छन् । प्रस्तावमा इरानको आणविक कार्यक्रम सीमित गर्ने, प्रतिबन्ध हटाउने तथा हर्मुज जलमार्ग खुला गर्ने विषय समावेश छन् ।

इरानले प्रस्ताव अध्ययन गरिरहेको जनाएको हाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिको सम्भावना रहेको बताउँदै अहिलेको प्रयास असफल भए थप बमबारी हुने चेतावनी दिनुभएको छ ।

मध्यस्थता गर्दै आएको पाकिस्तानले युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको जनाएको हाे । पछिल्लो प्रस्ताव अनुसार इरानले आफ्नो आणविक कार्यक्रम अन्तर्गत भइरहेको युरेनियम समृद्धि प्रक्रिया निश्चित समयका लागि पूर्ण रूपमा रोक्ने प्रतिबद्धता जनाउनेछ ।

यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू हटाउने र रोकिएका सम्पत्तिहरू फिर्ता गर्ने तयारी गर्ने भएकाे हाे । जसले इरानको अर्थतन्त्रलाई राहत दिने र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध पुनः सुधार हुने अपेक्षा गरिएको छ ।

इरान–अमेरिकाबीच फेरि वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य ११ प्रतिशतले घटेको हाे । दुई देशबीच पाकिस्तानको मध्यस्थतामा एक महिनाअघि युद्धविराम भए पनि हर्मुज क्षेत्रमा तनाव कायमै छ ।

विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा ग्यास आपूर्ति हुने मार्गमा दुई महिना भन्दा लामो समयदेखि देखिएको अवरोधले विश्वभर नै तेल, प्राकृतिक ग्यास र रासायनिक मलको संकट उत्पन्न भएको हाे ।