काठमाडौं । सरकारले विभिन्न क्षेत्रमा क्रियाशील १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती सेवा ऐन, २०४९ अन्तर्गत दर्ता भएका ८ वटा र स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका ४ वटा ट्रेड युनियनको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश’ जारी गर्दै दलगत निजामती कर्मचारी तथा राष्ट्रिय स्तरका ट्रेड युनियन खारेज गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार विभागका पञ्जिकाधिकारीले दर्ता खारेजीको निर्णय गरेका हुन् ।
निजामतीतर्फ नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको दर्ता खारेज गरिएको छ ।
यस्तै, स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता पनि खारेज गरिएको विभागले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया