संसदलाई प्रभावकारी बनाउन मुख्य सचेतक तथा सचेतकहरुसँग सभामुख अर्यालको छलफल

12 Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका छन् ।

सभामुख अर्यालले संसदको आउँदो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक एवं सचेतकहरुसँग छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसदको कार्यप्रणालीलाई प्रभावकारी बनाउने छलफल भएको बताइन् ।

उनले संसदीय दलको प्रमुख सचेत तथा सचेतक चयन भएपछि सभामुखसँग पहिलो छलफल भएकोले बधाई तथा शुभकामना आदानप्रदान समेत भएको बताइन् । ‘संसदमा हुने काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो र सभामुखज्यूसँग यसरी भेटघाट भएको थिएन । त्यसकारण सत्तारुढ दलसँगै प्रतिपक्षी दलहरुले समेत केही क्युरिसिटीहरु सभामुखसमक्ष राखेर छलफल सामान्य रुपमा नै गयो’ उनले भनिन् ।

रास्वपाकै अर्का सचेतक प्रकाशचन्द्र परियारले संसदमा प्रतिनिधित्व गर्ने ६ वटै दलका सचेतक र प्रमुख सचेतकहरूसँग सभामुखले संसदको सञ्चालनको अवस्था र समस्याको बारेमा छलफल गरेकाे बताए ।

छलफलमा सभामुख अर्यालले संसदलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न दलहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको पनि बताए । ‘संसदमा सहभागि ६ वटै दलका मुख्य सचेतक र सचेतकहरुसँग सभामुखसँगको छलफल डाँक्नुभएको थियो । बैठकमा सभामुखले संसदको अहिलेको धरातलीय यर्थाथ, संसदले व्यहोर्नुपरेका समस्यालाई कसरी चिर्न सकिन्छ भनेर छलफल भयो । खास गरेर दलका सचेतक तथा प्रमुख सचेतकहरुले सभामुखसँगको समन्वय र सहकार्यमा के कसरी हाउसलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भयो’ उनले भने ।

नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सभामुखसँगको छलफलमा संसद छिटोभन्दा छिटो सञ्चालन गर्न पहलकदमी लिन आफूहरुले आग्रह गरेको बताइन् । उनले छलफलको कुनै ठोस एजेण्डा नभएपनि सभामुख अर्यालले संसदको प्रभावकारिता बढाउन विपक्षी दलहरुसँग सहकार्य र समन्वयको अपेक्षा गरेको उल्लेख गरिन् । ‘संसदको काम कारबाही अगाडि बढाउँदै गर्दा सभमुखले हामीसँग सहकार्यको अपेक्षा गर्नुभएको छ । बैठकमा खास कुनै एजेण्डा थिएन । सरकारको कामकारबाहीको विषयमा केही पनि छलफल भएन । सचेतकको कार्यालय सञ्चालन लगायतका सामान्य विषयमा छलफल भयो । हामीले संसद छिटो सञ्चालन गरौँ भनेर भनेका छौँ । सभामुखज्यूले भोलितिर जानकारी आउँछ भन्नुभएको छ’ उनले भनिन् ।

छलफल सभामुख अर्यालले संसदको बर्खे अधिवेशन छिट्टै आह्वान हुने विश्वास व्यक्त गरेको उनको भनाइ छ ।