कास्कीमा बाबुको हत्या आरोपमा छोरा पक्राउ

11 Shares

पोखरा । कास्की जिल्लाको रूपा गाउँपालिका–४, बागेडाँडामा एक वृद्धको शंकास्पद मृत्यु प्रकरणमा उनका आफ्नै छोरा पक्राउ परेका छन्। वैशाख १७ गते साँझ करिब ६: ४५ बजे ६२ वर्षीय राम बहादुर घर्ती आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए।

उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरी घाइतेलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पठाएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी हरिबहादुर बस्नेतले घटनास्थलको सूक्ष्म अनुसन्धान गर्दा मृतकको घाँटीमा गलबन्दीको फन्का बेरिएको, नाकबाट तरल पदार्थ बगेको र कोठाको ढोका खुला रहेको पाइएको थियो।

अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतककै कान्छो छोरा ३४ वर्षीय भिम बहादुर भुजेललाई पक्राउ गरिएको सुचना अघिकारी बस्नेतले जानकारी दिए ।

उनलाई १८ गते पोखरा महानगरपालिका–११, हस्पिटल चोकबाट पक्राउ गरिएको हो। पक्राउ परेका भुजेलमाथि मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १७७ बमोजिम कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।