नेप्से २६.१६ अंकले घट्यो, वित्तीय विवरण सकारात्मक हुँदाहुँदै पनि बजारमा प्रभाव देखिएन

38 Shares

काठमाडौं । मंगलबार NEPSE Index २६.१६ अंकले घटेर २७७० अंकमा झरेको छ। अघिल्लो दिन भने सूचक ७.७ अंकले बढेको थियो।

आज कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अधिकांश संस्थाको नाफा तथा प्रतिसेयर आम्दानी (EPS) मा सुधार देखिए पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिन सकेन।

लोन लस प्रोभिजन केही घटेको र धेरै संस्थाहरू लाभांश दिन सक्ने अवस्थामा देखिए पनि नउठेको ब्याज तथा साँवा असुलीमा चुनौती कायम रहँदा लगानीकर्तामा विश्वास कमजोर देखिएको छ।

यस्तै उद्योगी व्यवसायीमाथिको धरपकडले पनि बजारमा नकारात्मक असर पारिरहेको छ।

आज ४२ कम्पनीको शेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ भने १४ कम्पनी स्थिर रहेका छन्। ‘अन्य’ समूह बाहेक सबै समूहका सूचक घटेका छन्। अन्य समूह ०.७३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ।

त्यस्तै उत्पादन तथा प्रशोधन २.४६, बैंकिङ ०.८४, विकास बैंक १.२२, हाइड्रोपावर १.७४, लगानी ०.४७, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.३९ र व्यापार समूह ०.३९ प्रतिशतले घटेका छन्।

आज कुनै पनि कम्पनीको शेयर मूल्य दोहोरो अंकले बढ्न सकेन। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घटेको छ। अन्य केही कम्पनीहरूको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ।

कारोबार धेरै भएका कम्पनीहरूमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र कुमारी बैंक रहेका छन्।