आगामी वर्ष बजेटको आकार बढाउन सक्ने स्थिति छैनः सहसचिव पाण्डेय

39 Shares

काठमाडाैं । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने स्थिति नरहेको बताउनुभएको छ ।

काठमाडाैंमा मंगलबार अर्थको अर्थ कार्यक्रमको ३३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले बजेटको सिलिङ बढाउँदा पनि खर्च नहुने स्थिति नरहेको बताउनुभएकाे हाे । उहाँले आगामी वर्ष ठूलो आकारको बजेट नआउने संकेत गर्नुभयो । बजेटको आकार बढाउने भन्दा यथार्थमा आधारित बजेट निर्माण गरी त्यसको पूर्ण उपयोगमा ध्यान दिनुपर्नेमा उहाँकाे जाेड छ।

सहसचिव पाण्डेयले बजेट खर्चमा देखिएका कमीकमजोरीलाई पहिचान गरेर अघि बढिने बताउनुभयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेकै दिन आर्थिक क्षेत्रसँग सम्बन्धित संरचनात्मक अवरोध र कानूनी जटिलताका विषयमा छलफल भएको उहाँले बताउनुभयो । सोही क्रममा १५ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित कानूनहरू खारेज गर्ने तथा राजस्व अनुसन्धान विभागलाई खारेज गर्ने निर्णय गरिएको र कार्यप्रक्रिया अगाडि बढिरहेको समेत उहाँको भनाइ छ ।.

सहसचिव पाण्डेयले अहिले स्पष्ट जनादेशसहितको सरकार बनेकाले सुधारको लागि उपयुक्त अवसरका रुपमा लिइएको समेत बताउनुभयो ।