वीपी राजमार्ग अवरुद्ध: ६२७ यात्रुको उद्धार, ८० सवारी अझै अलपत्र

46 Shares

शनिबार साँझदेखि परेको लगातारको भारी वर्षाले मंगलटार क्षेत्रस्थित वीपी राजमार्ग का विभिन्न स्थानका अस्थायी डाइभर्सनहरू बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। यसका कारण करिब ६२७ यात्रु बीच बाटोमै अलपत्र परेका थिए।

जिल्ला प्रहरी कार्यालय काभ्रे का अनुसार आइतबार दिउँसोसम्म ती सबै यात्रुको सुरक्षित उद्धार गरिएको छ। उद्धार कार्यका क्रममा यात्रुहरूलाई मंगलटारबाट झोलुङ्गे पुलमार्फत पार गराई तेमाल गाउँपालिका हुँदै भकुण्डे पुर्‍याइएको थियो, जहाँबाट उनीहरूलाई गन्तव्यतर्फ पठाइएको हो।

अवरुद्ध अवस्थाका बीच नेपाल प्रहरी र स्थानीय व्यापारीहरूले समन्वय गरी अलपत्र यात्रुहरूलाई फलफूल, चाउचाउ, फ्रुटी र पिउने पानी वितरण गरेका थिए, जसले तत्काल राहत प्रदान गरेको थियो।

हालसम्म पनि मंगलटार क्षेत्रमा करिब ८० वटा सवारी साधन रोकिएका छन्। ती सवारीका चालक र सहचालक गरी झण्डै १२०–१२५ जना सोही स्थानमा बसिरहेका छन्। डाइभर्सन बगाएकाले सवारी साधनहरू तत्काल सञ्चालन गर्न सकिने अवस्था छैन, जसका कारण काठमाडौँ र सिन्धुलीतर्फ आवागमन अझै प्रभावित रहेको प्रहरीले जनाएको छ।

यसैबीच वर्षा हुने क्रम केही घटेसँगै रोशी गाउँपालिका का अध्यक्ष दिनेश लामाका अनुसार डाइभर्सन पुनः निर्माणको काम सुरु गरिएको छ। रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेंशी, बुलढुंगा र माम्ती गरी आठ स्थानमा डाइभर्सन बगाएको जानकारी पनि प्रहरीले दिएको छ।

सडक पुनः सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन वा आवश्यक परे यात्रा स्थगित गर्न सुझाव दिइएको छ।