काठमाडौं । परराष्ट्र मन्त्रालय ले दक्षिण–पूर्वी एशियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म विभिन्न देशबाट ६ सय १२ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइसकिएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री का अनुसार उद्धार गरिएकामध्ये कम्बोडिया बाट ४ सय ८७ जना, म्यानमार बाट १ सय ११ जना, लाओस बाट ८ जना र थाइल्याण्ड बाट ६ जना रहेका छन्। उद्धार कार्यका लागि सम्बन्धित देशस्थित नेपाली नियोगहरूले स्थानीय निकायहरूसँग समन्वय गर्दै काम गरिरहेका छन्।
हाल थप ५३ जनाको यात्रा कागजात तयार भइसकेको र उनीहरूलाई छिट्टै नेपाल फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। सन् २०२१ यता विभिन्न प्रयोजनका लागि कम्बोडिया पुगेका नेपालीको संख्या २१ हजार पुगेको उल्लेख गर्दै तीमध्ये केही शंकास्पद डिजिटल ठगी केन्द्रहरूमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ।
यसैबीच, कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। प्रवक्ता क्षेत्रीका अनुसार पक्राउ परेकामध्ये ५ जनालाई सङ्गठित ठगीसम्बन्धी मुद्दामा सिम रिप प्रोभेन्सियल कोर्ट मा पेश गरिनेछ भने अन्य ४ जनालाई शरीर बन्धक, यातना तथा हिंसात्मक गतिविधिसम्बन्धी आरोपमा अनुसन्धानका लागि थुनामा राखिएको छ। यससँगै कम्बोडियामा पछिल्लो समय पक्राउ परेका नेपालीहरूको संख्या १४ पुगेको छ।
उद्धार तथा कानुनी पहलसँगै मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानून संशोधनको तयारीलाई पनि अगाडि बढाएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल ले गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यसहित विधेयक छिट्टै संसद्मा पेश गरिने जानकारी दिएका छन्। हालसम्म ५ हजारभन्दा बढी गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वैदेशिक सम्बन्धलाई थप सुदृढ बनाउन अन्य मन्त्रालयहरूसँग समेत समन्वयलाई तीव्र बनाएको जनाएको छ। पछिल्लो समय डिजिटल ठगीका अन्तर्राष्ट्रिय सञ्जाल विस्तार भइरहेका बेला नेपालीहरू त्यसको जोखिममा परेकाले सचेतना र उद्धार दुवैलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया