विद्यालयको रकम हिनामिना आरोपमा प्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

10 Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित एक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार मुसिकोट नगरपालिका–१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विभिन्न शीर्षकमा कुल १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बराबरको हिनामिना गरिएको पाइएको हो ।

अनुसन्धानका क्रममा विद्यालयका लागि खरिद गरिएको भनिएका I3 Dell server, scanner, projector लगायतका सामग्री आपूर्ति नै नगरी झुट्टा बिलमार्फत ४ लाख ८८ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको खुलेको छ । साथै ICT तालिम सञ्चालन नगरी सञ्चालन भएको देखाई २ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको आरोप छ ।

त्यसैगरी विद्यालयको आन्तरिक आम्दानी तथा विद्यार्थीबाट उठाइएको शुल्कसमेत बैंकमा दाखिला नगरी खर्च गरिएको, वेरुजु फर्छ्यौटका नाममा अनियमितता गरिएको र बिना उद्देश्य रकम झिकिएकोसमेत अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।

यस प्रकरणमा तत्कालीन प्रधानाध्यापक हरि प्रसाद खनाल र लेखापाल ठक बहादुर बुढाथोकीसहित अन्य कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको मागदाबी गरिएको छ ।

आयोगले सम्बन्धित अन्य कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नगरपालिका कर्मचारी तथा आपूर्तिकर्तासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले विद्यालयको रकम हिनामिना तथा दुरुपयोगसम्बन्धी कसुरमा संलग्नहरूमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।