प्रतिनिधि सभा नियमावली मस्यौदा समितिद्वारा सभामुखसमक्ष प्रतिवेदन पेस

10 Shares

काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्य सम्पादन सम्पन्न गरी प्रतिवेदन बुझाएको छ ।

मंगलवार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्याललाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै सभामुख अर्यालले समितिले समयमा नै कार्य सम्पादन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनका लागि यसले सकारात्मक नजिर बसालेको बताए । उनले कुनैपनि काम समय सीमाभित्र सम्पन्न गर्दा मात्र व्यक्तिगत र संस्थागत रूपमा गर्व महसुस हुने र जनताले पनि आफूले चुनेका प्रतिनिधिहरूले काम गरिरहेको महसुस गर्ने धारणा राखे ।

मस्यौदा तयार पार्ने क्रममा विशेषज्ञ समूह, कर्मचारी, सञ्चारकर्मी र विभिन्न राजनीतिक दलका माननीय सांसदहरूसँग व्यापक संवाद गरिएकोमा सभामुखले प्रशंसा गरे । विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेका कारण सबैले आफ्नो पार्टीसँग समेत संवाद गरेर यसलाई पूर्णता दिएको आफूले बुझेको उनको भनाइ थियो ।

उनले भने ‘हामीले कुनैपनि काम समय सीमाभित्र सम्पन्न गर्दै गयौँ भने तब मात्र हामीले आफूप्रति पनि त्यसमा गर्व गर्ने,महसुस गर्छौँ र जनताले पनि हामीलाई जे कामका लागि पठाउनुभएको त्यो जनताले पाएको महसुस गर्नुहुनेछ भन्ने लाग्छ । समितिले प्रतिवेदन बुझाए पनि यो अन्तिम प्रक्रिया होइन । यसलाई सदनमा पेस गर्ने र संशोधनका लागि समय दिने व्यवस्था छ । यदि कुनै कमी कमजोरी वा त्रुटि छन् भने सुधार्ने मौका अझै बाँकी छ ।’

व्यवस्थापिकाको संरक्षकको हैसियतले सभामुखले समितिका सदस्यहरूले बिदा र समयको प्रवाह नगरी अहोरात्र खटेर कार्य सम्पन्न गरेकोमा व्यक्तिगत र संस्थागत रूपमा आभार प्रकट गरे ।