तराईका ९ जिल्लामा तातो लहरको चेतावनी, तापक्रम ४०°C नाघ्ने सम्भावना

137 Shares

काठमाडौँ । देशका विभिन्न ९ वटा जिल्लामा आगामी तीन दिनसम्म तातो हावा चल्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा तातो दिन तथा तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विभागका अनुसार कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीमा तातो लहरको प्रभाव रहनेछ।

विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सोमबारदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको जनाएको छ । साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा ३८ डिग्री सेल्सियस आसपास तापक्रम पुगेको छ।

आगामी तीन दिनसम्म पनि लुम्बिनी र सुदूरपश्चिमका केही स्थानहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तथा अन्य तराई क्षेत्रमा ३८ डिग्री वा सोभन्दा बढी पुग्ने सम्भावना रहेको विभागले जनाएको छ।

तातो हावा तथा तातो लहरबाट बच्न घरभित्र चिसो स्थानमा बस्न, अनावश्यक रूपमा बाहिर ननिस्कन, बाहिर जाँदा टाउको छोप्न, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न र स्वास्थ्य समस्या देखिएमा चिकित्सकसँग सम्पर्क गर्न विभागले आग्रह गरेको छ।