काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउन थालेका छन् । मन्त्रीले जिल्ला अनुगमनमा जाँदा सम्बन्धित क्षेत्रका सांसदलाई जानकारी नदिएको विषयलाई लिएर पार्टीभित्रै प्रश्न उठ्न थालेको हो ।
काभ्रे–१ का सांसद मधु चौलागाईंले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफल तथा संसदीय दलको बैठकमा गृहमन्त्री गुरुङको शैलीको आलोचना गरेका छन् । बागमती प्रदेशबाट संघीय संसदमा निर्वाचित सांसदहरूसँग सोमबार भएको छलफलमा उनले समन्वय अभावबारे गुनासो राखेका थिए ।
धादिङ–१ की सांसद आशिका तामाङले पनि सोही विषयमा प्रधानमन्त्रीसँग असन्तुष्टि व्यक्त गरेकी थिइन् । गृहमन्त्री गुरुङ गत मंगलबार काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा पुगेका थिए । वर्षायाममा हुन सक्ने जोखिमबारे जानकारी लिन गरिएको उक्त भ्रमणका क्रममा उनले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका थिए । गिट्टी–बालुवा उत्खननका कारण पहिरोको जोखिम बढेको भन्दै उनले कडाइ गर्ने संकेत दिएका थिए ।
तर उक्त निरीक्षणमा स्थानीय जनप्रतिनिधिलाई जानकारी नगरिएको भन्दै सांसद चौलागाईं असन्तुष्ट छन् । “हाम्रो क्षेत्रमा जाँदा त्यहाँका समस्या हामीलाई थाहा हुन्छ। हामीलाई साथमा लगिएको भए थप यथार्थ जानकारी दिन सकिन्थ्यो,” उनले भने ।
उनले सुरक्षाको दृष्टिले समेत सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई जानकारी दिनुपर्ने तर्क गरेका छन् । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको उदाहरण दिँदै उनले संवेदनशील पदमा रहेका व्यक्तिको भ्रमणमा समन्वय आवश्यक हुने बताए ।
प्रधानमन्त्रीसँगको छलफलमा उठाइएका यी प्रश्नमा स्पष्ट प्रतिक्रिया नआएको चौलागाईंले बताएका छन् । उनका अनुसार संसदीय दलको आगामी बैठकमा गृहमन्त्रीलाई यस विषयमा जानकारी गराइनेछ ।
यसैबीच गृहमन्त्री गुरुङ विभिन्न जिल्लामा पुगेर निर्माणाधीन पूर्वाधारहरूको निरीक्षण गर्दै निर्माण कम्पनीहरूलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिइरहेका छन् । सोमबार उनले नारायणगढ–बुटवल सडक खण्डको निरीक्षण गर्दै ढिलाइप्रति असन्तुष्टि जनाएका थिए र तोकिएको समयमै काम नसके कारबाही हुने चेतावनी दिएका थिए ।
रास्वपा सांसदहरूका अनुसार मन्त्री गुरुङले पार्टीको ‘चेन अफ कमाण्ड’अनुसार काम नगरेको देखिएको छ, आवश्यक समन्वयबिना गरिएको अनुगमन प्रभावकारी नहुने उनीहरूको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया