काठमाडौँमा सुकुम्वासी बस्तीहरूमा डोजर चलाइएको विषयलाई लिएर अखिल नेपाल सुकुम्वासी संघ ले कडा आपत्ति जनाएको छ। संघले पत्रकार सम्मेलन गर्दै यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेको हो।
संघका अनुसार सरकारले भूमिहीन र अव्यवस्थित बसोवासीहरूको समस्या समाधान गर्नुपर्नेमा उल्टै काठमाडौं उपत्यका का विभिन्न स्थानमा रहेका बस्तीहरूमा डोजर प्रयोग गरेर “आतंक सिर्जना” गरिरहेको आरोप लगाइएको छ। संघका इन्चार्ज नरेन्द्र खड्का ले टोखा नगरपालिका–७ धापासी क्षेत्रमा चैत ९ गते १८ वटा घरमा डोजर चलाइएको जानकारी दिएका छन्।
उनका अनुसार यसअघि सिफल र भक्तपुर मा पनि यस्तै घटना भएको थियो। उनले वर्तमान सरकारको अधिकारमाथि प्रश्न उठाउँदै सुकुम्वासी बस्तीमा डोजर चलाउनुको कारणबारे स्पष्टीकरण माग गरेका छन्।
संघका नेता प्रकाश खरेल ले सुकुम्वासीलाई अतिक्रमणकारीको रूपमा चित्रण गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनका अनुसार वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई व्यवस्थापन गर्नुको सट्टा जबर्जस्ती हटाउने काम भइरहेको छ।
धापासीका पीडित दलबहादुर खड्का ले आफूहरूलाई छल गरेर बस्तीमा डोजर चलाइएको आरोप लगाए। उनले २०६० सालदेखि त्यहाँ बसोबास गर्दै आएको र भूमी आयोगमार्फत लालपूर्जा प्रक्रियामा रहेको जानकारी दिए।
संघले सुकुम्वासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न, भूमिहीन नागरिकलाई आवासको सुनिश्चितता गर्न, लालपूर्जा वितरणलाई तीव्रता दिन तथा भूमिसम्बन्धी कानुन संशोधन गर्न सरकारसँग माग गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया