पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने आदेश जारी

39 Shares

काठमाडौं । सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न बाटो खोल्दै ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ जारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र पेट्रोलियम पदार्थ आयात न्यूनीकरण गर्ने उद्देश्यले यो आदेश जारी गरेको हो।

अधिकारित कच्चापदार्थको सूचीमा चिनी उद्योगबाट निस्कने खुँदो (मोलासेस), नेपियर घाँस, कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको खोया, गहुँको छ्वाली र खानका लागि अयोग्य सडेगलेका अन्न समावेश छन्। तर खाद्य सुरक्षा सुनिश्चित गर्न मानिसले खान मिल्ने कुनै पनि अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने कडा प्रतिबन्ध लगाइएको छ।

उत्पादित इथानोल खरिद, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थित गर्न नेपाल आयल निगमलाई एकाधिकार प्रदान गरिएको छ। इजाजतप्राप्त उद्योगहरूले उत्पादन गरेको सम्पूर्ण इथानोल अनिवार्य रूपमा निगमलाई मात्र बिक्री गर्नुपर्नेछ। निगमले उपलब्धता र प्राविधिक पक्षअनुसार प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सक्नेछ।

इथानोलको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर तथा नापतौल विभागको मापदण्ड पालन अनिवार्य गरिएको छ। निगमले खरिदअघि प्रत्येक खेप परीक्षण गर्नेछ भने उद्योगहरूले आफ्नै प्रयोगशाला स्थापना गर्नुपर्ने दायित्व हुनेछ।

आदेश कार्यान्वयनको सहजीकरणका लागि उच्चस्तरीय सिफारिस समिति गठन गरिनेछ। समितिमा उद्योग मन्त्रालयका सचिव संयोजक, अर्थ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका विज्ञ र आयल निगमका कार्यकारी निर्देशक सदस्यसचिव रहनेछन्।

समितिले इथानोलको मूल्य निर्धारण, राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिने सिफारिस, आवश्यक मेसिनरी र उपकरण आयातमा सुविधा दिने सिफारिस जस्ता जिम्मेवारी पाउनेछ। यसले उद्योग स्थापनामा लगानीकर्तालाई आकर्षित गर्ने र प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

आदेश कार्यान्वयनमा उत्पन्न कुनै द्विविधाको अन्तिम व्याख्या उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने अधिकार राखिएको छ।