कार्यावधि सकिएसँगै निर्वाचन प्रहरीलाई बिदाइ

45 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको कार्यावधि समाप्त भएपछि उनीहरूलाई बिदाइ गरिएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर भर्ना गरेका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिएको हो। उनीहरूलाई ४० दिनका लागि भर्ना गरिएको थियो। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुका साथै मतगणना कार्य पनि समाप्त भइसकेको छ।

निर्वाचन प्रहरी अर्जुन खत्रीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले अब बन्ने सरकारले निर्वाचन प्रहरीका लागि उचित रोजगारीको व्यवस्था गर्नुपर्ने माग पनि गर्नुभयो।

त्यस्तै निर्वाचन प्रहरी रविना अधिकारीले छोटो अवधिका लागि भए पनि देशको सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। जेन–जी आन्दोलनको पृष्ठभूमिमा भएको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि सफलतापूर्वक सम्पन्न हुनु महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

उहाँले अब बन्ने सरकारले युवाहरूको मागअनुसार रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कुल एक लाख ३९ हजारभन्दा बढी निर्वाचन प्रहरी परिचालन गरिएका थिए।