मध्यपूर्वको तनावप्रति सरकार गम्भीर : प्रधानमन्त्री सुशीला कार्की

182 Shares

काठमाडौं — सुशीला कार्कीले मध्यपूर्वमा बढ्दो तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिँदै गएको युद्ध संकटबारे सरकारले सूक्ष्म रूपमा निगरानी गरिरहेको बताउनुभयो। उक्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभयो।

रोजगारी तथा अन्य प्रयोजनले मध्यपूर्वमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी तथा युवाहरूको अवस्थाप्रति सरकार चिन्तित रहेको उल्लेख गर्दै उहाँले संकटको यस घडीमा सरकार आफ्ना नागरिकको साथमा रहेको सन्देश दिनुभयो।

नेपालीहरू विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको आश्वासन पनि उहाँले दिनुभएको छ।

प्रधानमन्त्री कार्कीले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन र सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगको सम्पर्कमा रहन आग्रह गर्नुभएको छ।