शेयर बजार झण्डै ९ अंकले बढेर बन्द, कारोबार रकम पनि वृद्धि

193 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ।

गत आइतबारदेखि बुधबारसम्म घट्दो क्रममा रहेको नेप्से परिसूचक बिहीबार भने झण्डै ९ अंकले बढ्दै २६ सय ७१ विन्दुमा पुगेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। नेप्सेमा रहेका १३ उपसमूहमध्ये आठ उपसमूह बढेका छन् भने पाँच उपसमूह घटेका छन्।

आज १३९ कम्पनीको शेयर मूल्य बढ्दा ११५ कम्पनीको शेयर मूल्य घटेको छ। रसुवागढी हाइड्रो र मध्यभोटेकोशी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै ७ दशमलव ५९ प्रतिशत घाटा व्यहोरेका छन्।

आज ३३७ कम्पनीका २ करोड ७७ लाख ८० हजार कित्ता शेयर ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। कारोबार रकमका आधारमा ङादी पावर ग्रुपको सर्वाधिक ७० करोड ५३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।