काठमाडौं । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभासमक्ष प्रस्तुत गरेकी छन्।
सभापति दाहालका अनुसार वार्षिक प्रतिवेदनमा समितिले आर्थिक वर्षभर गरेका कामकारबाही, विधेयकको अवस्था, सदस्यको उपस्थिति, निर्णय र प्रतिवेदनहरू समावेश गरिएको छ। उनले विशेष रूपमा उल्लेख गरे कि विधेयकका दफाबार छलफल, विज्ञ, मन्त्री र सचिवको सहभागितामा व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको छ।
वार्षिक प्रतिवेदनअनुसार समितिले २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म कुल १०४ औपचारिक बैठक सम्पन्न गरेको छ।
तीमध्ये ८६ बैठक विधेयक व्यवस्थापनको कार्यमा केन्द्रित भएका थिए।
चार बैठक ऐन कार्यान्वयनको मापनसम्बन्धी छलफलका लागि आयोजित थिए।
पाँच बैठक अध्ययन तथा अनुसन्धानसम्बन्धी विषयमा केन्द्रित थिए।
बाँकी नौ बैठक अन्य विविध विषयमा केन्द्रित थिए।
सभापति दाहालले समितिको कार्य प्रक्रियामा पारदर्शिता, विधेयक व्यवस्थापन र छलफलमा सबै सरोकारवालाको सहभागिता सुनिश्चित भएको जानकारी दिँदै आगामी दिनमा पनि यस प्रकारको प्रणालीगत र व्यावस्थित कार्यप्रवाह निरन्तरता राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
समितिले यस अवधिमा गरेका बैठकहरू र छलफलहरूले विधायन कार्यलाई प्रभावकारी बनाउँदै कानुन निर्माण प्रक्रियामा पारदर्शिता र समावेशीताको सुदृढीकरण गरेको प्रतिवेदनमा उल्लेख छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया