काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियामा गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ।
निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न पहल गर्ने प्रतिबद्धतासहित निर्वाचन आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो। प्रविधिमार्फत फैलिन सक्ने गलत सूचना, भ्रमपूर्ण सामग्री तथा आचारसंहिता विपरीत गतिविधि रोक्न सबै पक्ष सचेत हुनुपर्ने उहाँले बताउनुभयो।
भण्डारीले निर्वाचन प्रयोजनका लागि टिकटकले देखाएको सहयोगप्रति धन्यवाद दिँदै नेपालमा निःशुल्क रूपमा निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। निर्वाचन आयोगले आगामी निर्वाचनमा विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गर्दै भ्रामक सूचना नियन्त्रण र आचारसंहिता उल्लंघनका गतिविधि रोक्न सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।
यस सन्दर्भमा टिकटक जस्ता प्लेटफर्मबाट प्राप्त सहयोग र प्रतिबद्धतालाई आयोगले सकारात्मक रूपमा लिएको छ।
“आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन। दुरुपयोगले निर्वाचनलाई बिथोल्ने, माहोल धमिल्याउने प्रयास हुन सक्छ। विश्वको नजर अहिले हाम्रो निर्वाचन प्रक्रियामा छ। यस्तो अवस्थामा टिकटकमार्फत सहयोग गर्ने प्रतिबद्धता अत्यन्त महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।
विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढ्दै गएको सन्दर्भमा नेपाल निर्वाचन आयोगले प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै दुरुपयोग रोक्न कडा कदम चाल्ने तयारी गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया