निर्वाचन आयोगद्वारा काठमाडौं महानगरपालिकासँग स्पष्टीकरण माग

79 Shares

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा स्पष्टीकरण सोधेको छ।

आचारसंहिता २०८२ लागू भइसकेपछि महानगरपालिकाले ७० वर्ष वा सोभन्दा माथिका नागरिकलाई घर–घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले चासो देखाएको हो। यससम्बन्धी कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको जनाउँदै आयोगले महानगरपालिकालाई पत्राचार गरेको जनाएको छ।

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा समावेश नभएका नयाँ कार्यक्रम, नीति वा योजना घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नपाइने व्यवस्था छ। तर सरुवा रोगको महामारी वा काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिएर कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ।

सोही प्रावधानको सन्दर्भमा आयोगले कार्यबाहक नगरप्रमुखले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश छ वा छैन भन्ने स्पष्ट पार्न महानगरपालिकासँग जवाफ मागेको हो। यदि उक्त कार्यक्रम बजेटमा समावेश भएको भए त्यसको प्रमाणित कागजात पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्न आयोगले निर्देशन दिएको छ।