सिद्धार्थ राजमार्ग सुधारका लागि एआईआईबीको २ मिलियन डलर अनुदान स्वीकार

206 Shares

काठमाडौं । सरकारले सिद्धार्थ राजमार्ग सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) बाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा खण्ड सुधारका लागि २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त अनुदान राजमार्ग सुधारका कार्यमा प्रयोग गरिने बताए।

उनका अनुसार बुटवल–पोखरा खण्ड सिद्धार्थ राजमार्गको महत्वपूर्ण हिस्सा भएकाले यस क्षेत्रको स्तरोन्नतिले यात्रु आवागमनलाई सहज बनाउनुका साथै सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरिएको छ।

सरकारले रणनीतिक र व्यस्त राजमार्गको सुधारलाई प्राथमिकतामा राख्दै विकास साझेदारसँग सहकार्य गर्दै आएको छ। एआईआईबीबाट प्राप्त हुने अनुदानले सिद्धार्थ राजमार्गको सुधार कार्यलाई गति दिने विश्वास सरकारको रहेको छ।