२०७२ को भूकम्पले भत्किएका सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसक्यौँः प्रमुख महर्जन

232 Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्किएका सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणको काम सम्पन्न भएको बताउनुभएको छ ।  

सिजन मिडियाको १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले यस्तो दाबी गर्नुभएको हो । उहाँले मुलुकमा काम गर्न निकै चुनौतीपूर्ण अवस्थाका बाबजुद आफूहरु सक्दो काम गर्न लागिपरेको बताउनु भयो । 

महानगर प्रमुखको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको उल्लेख गर्दै महर्जनले ललितपुर महानगरको सबै क्षेत्रको विकासका लागि तदारुकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

उहाँले सरकारसँगको सहकार्यमा सम्पदाहरुको पुर्ननिर्माण सम्भव नदेखिएकाले महानगर एक्लैले काम गरिरहेको बताउनु भयो । सोही अवसरमा सिजन मिडियाले प्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित गरेको छ । 

मिडियाको १७ औँ वार्षिकोत्सवका अवसरमा एशियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गरेकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो । 

उहाँलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अवार्ड प्रदान गर्नुभयो ।