भुम्लुका नागरिक, जसले ८० वर्ष कटेपछि लालपूर्जा पाए....(भिडियोसहित)

651 Shares
  • ज्ञानमणि नेपाल कालोटोपी

भुम्लु, काभ्रे । उमेरले ८० वर्ष कटिसक्दा काभ्रेको भुम्लु गाउँपालिका वडानम्बर–८ का कूलबहादुर श्रेष्ठलाई आफूले भोगचलन गरिरहेको जग्गाको लालपूर्जा पाइएला भन्ने आशै थिएन । भदौ ३ गते एकाएक उनले लालपूर्जा पाए, त्यसपछि निकै खुशी देखिए कूलबहादुर । उनी मात्र होइन, उनी जस्ता ४२३ जनाले लालपूर्जा पाए । जसले भुम्लुका नागरिकलाई खुशी मात्र दिलाएन, जग्गाको धनी भएको प्रमाण पनि दिलायो । 

भदौ महिनाको चर्को घाम, अनि टाढा–टाढाबाट पैदलयात्रामा बाजागाजासहित उपस्थित भएका सयौं नागरिक, भुम्लु गाउँपालिकाको केन्द्रमा कुनै भव्य पर्व मनाइँदै गरेको जस्तो लाग्थ्यो तर यो उत्सव कुनै विवाह वा जात्राको भने थिएन । यो दृष्य थियो, लालपूर्जाबिहीन नागरिकले प्रमाण पूर्जा पाउँदाको खुशीको दिन ।  पूर्जा पाउँदा नागरिकहरु भावुक पनि बने । ८१ वर्षीय गिर्भनाथ उप्रेती र ८४ वर्षीया जयकुमारी तामाङको मुहारमा जीवनकै सबैभन्दा खुशीयाली छाएको दिन थियो यो । यो खुशी पाउन यहाँका नागरिकले ५० वर्षभन्दा बढी समय संघर्ष गर्नुपर्यो । 

Lal purja (1).jpg

साबिकको फलाटे र भुम्लुटार गाविसमा २०३२ सालमै नापजाँच सम्पन्न भए पनि जग्गाधनी प्रमाणपत्र बाँडफाँट हुन सकेको थिएन । सीमाना विवाद, नापीमा भएको त्रुटी, कागजातको अद्यावधिक अभाव, भूकम्प र महामारीजस्ता विपत्तीले यहाँका नागरिकले आफूले भोगचलन गरिरहेको जग्गाको पूर्जा पाउन सकेका थिएनन् । 

जग्गाधनी प्रमाणपत्र नभएकै कारण उनीहरूले आफ्नो घर–जग्गा धितो राखेर ऋण लिन पनि पाएनन्, जग्गा किनबेच गर्न पनि पाएनन् । धेरैले त भूकम्पपीडितले पाउने राहत पनि पाएनन् । कतिपय स्थानीयले त लालपूर्जा पाउने आशामा आफ्नो जीवननै त्यगिसके । लामो प्रतिक्षा र संघर्षपछि भदौ ३ गते यहाँको वडा नम्बर ७ का १७७ जना र वडा नम्बर ८ का २४६ जनाले लालपूर्जा पाए । 

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यहाँका नागरिकलाई लालपूर्जा वितरणको शुरुवात गरेका हुन् । पहिलो चरणमा ४२३ जनाले पूर्जा पाए भने बाँकी करिब पाँचसय जना नागरिकलाई पनि प्रक्रिया पुर्याएर लालपूर्जा दिइने नापी कार्यालय धुलिखेलका प्रमुख अशोक भुषालले बताए । उनले २०३० सालको नापी हुँदादेखिको कागजात अध्ययन गर्न निकै कठिनाई भएको बताउँदै यस कार्यमा खटिने सबै कर्मचारीप्रति आभार व्यक्त गरे । 

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आफू पनि लालपूर्जाबिहीन नागरिक भएको पीडादायी अवस्था सुनाउँदै आफू जन्मिनुभन्दा ७ वर्ष पहिलेदेखिको समस्या अन्त्य हुन लागेको र यो सबैको सहयोगले मात्रै सम्भव भएको बताए । उनले लालपूर्जाका लागि निवेदन दिएका बाँकी परिवारलाई पनि छिट्टै पूर्जा वितरण हुने जानकारी दिए ।

पालिका उपाध्यक्ष जितेन्द्रमान लामाले भूमिहीनको अधिकार सुनिश्चित गर्नु गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताए । यस्तै पूर्वअध्यक्ष गुमानध्वज कुँवरले संघर्षको लामो यात्रा सम्झिँदै जनप्रतिनिधि, कर्मचारी, प्राविधिक सबैको निरन्तर प्रयासले आजको दिन सम्भव भएको बताए । वागमती प्रदेश सांसद रुकु चौलागाईंले भुम्लुका नागरिकहरुलाई लालपूर्जा दिलाउन आफूले पहिलेदेखि नै गरेका संघर्षहरुको सम्झना गरिन् । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले देशभरका भूमिहीनका समस्या समाधानलाई मन्त्रालयको प्राथमिकतामा राखिएको भन्दै यस अभियानलाई छिट्टै देशभरि फैलाउने प्रतिबद्धता जनाए । 

Lal purja (4).jpg

विसं २०३२ सालदेखि गाउँपालिकाको (तत्कालिन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । अब उनीहरुको पर्खाई सहिएको छ । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको छ । मङ्गलबार वडा नं ७ का १७७ र वडा नं ८ का २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको नापी कार्यालय धुलिखेलले जानकारी दिएको छ ।

यसका लागि २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो । साबिकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो । तत्कालीन समयमा खेतीयोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो । विसं २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । विसं २०३५ मा पनि काम नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् । अब भने यो अवस्थाको अन्त्य भएको छ ।

अझै पूर्जाबिहीन छन् रामगोपाल
भदौ ३ गते धेरैजसोका अनुहारमा खुशी छाएको थियो । तर सोही गाउँपालिका वडानम्बर ८ का रामगोपाल उप्रेतीले भने मलिन् अनुहार लगाएर अरुले लालपूर्जा पाएको टुलुटुलु हेरिरहे । किनभने उनले आफूले वर्षौंदेखि भोगचलन गरेको १४ रोपनी जग्गाको लालपूर्जा पाएनन् । कारण थियो ०३२ सालमा नापी आउँदा उनको जग्गालाई सालघारी भनेर उल्लेख गरिदिएछन् कर्मचारीले । उनीहरुले गरेको त्यो गल्तीको सजायँ अहिले रामगोपालले भोगिरहेका छन् । उनले मन्त्री र मन्त्रालयका सचिवसँग यो समस्या बताए तर उनीहरुले के रहेछ बुझेर समस्या समाधान गराउने आशा त देखाए तर उप्रेतीलाई विश्वास लागेको छैन । अहिले नापी कार्यालयका कर्मचारीले भूमि आयोगमा सम्पर्क गर्नु भनेको छ तर आयोग कहाँ छ र के गर्नुपर्छ भनेर उनलाई थाहा छैन । पूर्जा नहुँदा ५० वर्षदेखि जग्गाको किनबेच नभएको र आफूले ऋण लिन पनि नपाएको उनले गुनासो गरे । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला