बनेपा । साउन २५ गते आइतबार बुबा हरिप्रसाद सापकोटाको निधन भएपछि उहाँको काजकिरिया गर्नका लागि के गर्ने भन्ने बहस चल्यो । किनकी उहाँका सन्तान सबै छोरी मात्रै हुनुहुन्थ्यो । ती छोरीहरुले नै दागवत्ती दिने र बुबाको काजकिरिया पनि गर्ने बताउनुभएपछि समाजका धेरै जनाले धेरैथरि कुरा अघि सारे । कसैले सकारात्मकरुपमा लिए भने अधिकांशले शास्त्रसंगत नहुने भन्दै विरोध पनि गरे । तर आफूलाई जन्मदिने बाबुको संस्कार गर्न कसैले पनि नछेक्ने बताउँदै तीन दिदीबहिनीले बाबुको अन्तिम संस्कार गरे र अहिले १३ दिनसम्म गर्नुपर्ने काजकिरियाको काममा पनि बसिरहनुभएको छ । उहाँहरु हुनुहुन्छ, बिमला सापकोटा, निर्मला सापकोटा र राधिका सापकोटा । यो घटना काभ्रेको पनौती नगरपालिका –१ र्याले गाउँको हो ।

नजिकका केही दाजुभाइको बहिष्कारबीच उहाँहरु बाबुको काजकिरियामा बस्नुभएको छ । ९१ वर्षको उमेरमा बुबा हरिप्रसाद सापकोटाको आइतबार निधन भएको थियो । निधनपछि तीनजना छोरीहरूले बुबालाई दागबत्ती दिनुभयो । किरियाकर्ममा बसेका छोरीहरुमा बिमला बनेपा नगरपालिकाकी उपप्रमुख हुनुहुन्छ भने निर्मला शिक्षक र राधिका एमाले धादिङ जिल्ला कमिटीकी सचिव हुनुहुन्छ । उहाँहरू सानै हुँदा आमाको निधन भएको थियो । त्यसपछि बुबा हरिप्रसादले छोरीहरूलाई हुर्काउने, बढाउने र पढाउने गर्नुभयो । छोरा नभए पनि आफूहरूलाई जन्म र कर्म दिने बाबुको निधनपछि दागबत्ती दिने र काजकिरिया गर्ने छोरीहरुले इच्छा प्रकट गर्नुभयो । तर, नजिकका केही दाजुभाइले समाज बहिष्कारको चुनौती दिनुभयो । तर पनि उहाँहरु बुबाको किरियामा रहनुभयो ।

समाजले बाबुको काजकिरियामा अवरोध गरेपछि उपमेयर विमला सापकोटाले आफूहरूको कदमले हजारौं छोरीहरूमाथि न्याय हुने बताउँदै फेसबुकमा लेख्नुभएको छ, ‘ख्याल गर तिमीहरूले चलाएको बहस कानून र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौं छोरीमाथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोकी हाल हामी बहिष्कार हुन तयार छौं ।’ सापकोटाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘१३ दिन हाम्रो बुबाको घरमा बसेर काजकिरिया गर्न देऊ, पीडा नदेऊ । १३ दिनपछि सधैंका लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौं । समाजको डर लाग्नेहरू कृपया हामीलाई साथ दिनुपर्ने बाध्यता नसम्झनु होला, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ।’

बाबुको काजकिरिया गर्दा सामाजिक बहिष्कारको बैठक बसेको भन्दै उपमेयरले पीडामाथि पीडा नथप्न आग्रह गर्नुभएको छ । ‘यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ,’ उहाँले लेख्नुभएको छ, ‘हामीले अरू कसैको वंशमा दखल गरेका छैनौं । हामी अब थप पीडा सहन सक्ने अवस्थामा छैनौं ।’

पुरातनवादी समाजलाई तीन छोरीहरुले दिनुभएको चुनौतीको यतिबेला धेरैले प्रशंसा गरेका छन् भने केहीले विरोध पनि जनाएका छन् । यस कदमले छोराछोरी समान भन्ने पछिल्लो भनाइलाई भने सहयोग गरेको अधिकांशको बुझाइ छ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
भिडियाे र तस्बीरहरुः सामाजिक संजालबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया