बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा आज मेला लागेको छ ।
रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएकाले त्यहाँ पुग्न नसकेका भक्तजन काभ्रेमा रहेको गोसाइँस्थानमा मेला भर्ने गर्दछन् । गोसाइँस्थान धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्णस्थलका रुपमा रहेको भक्तजनहरुको भनाइ छ । बनेपा–६ स्थित गोसाइँस्थानमा जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको घुइँचो लागेको गोसाइँस्थान संरक्षण समितिले जनाएको छ । यहाँ हिन्दू, बुद्धका साथै बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
हिन्दू धर्मसंस्कार अनुसार यहाँ रहेको शिव मन्दिरमा पूजा गरी ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका ‘झाँक्री’ ढ्याङ्ग्रो बजाउँदै विभिन्न किसिमले पूजा गरी दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्नपात चढाउने, ब्राह्मण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन बाँध्ने चलन छ । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा आएर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन् ।

परापूर्वकालमा भाद्र पूर्णिमाका दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको विष बाहिर निस्कियो । त्यो विषलाई महादेवले सेवन गरेपछि विष सेवनको छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लाग्नुभयो । त्यही क्रममा महादेवको पहिलो बास बनेपा–६, गोसाइँस्थानमा भयो । बिहान भाले बासेपछि उहाँले रसुवाको गोसाइँकुण्डमा पुगेर त्यहाँ त्रिशूलले घोपेर पानी निकाली पीडा शान्त पार्नुभएको किंवदन्ती छ ।
मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् । बनेपाबाट उत्तर–पूर्वतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारको बीचमा रहेको धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भका कारण यो डाँडा प्रसिद्ध छ ।
बढ्दो शहरीकरण, वातावरण र ध्वनि प्रदूषणबाट शान्ति खोज्न यहाँका हरियाली वनजङ्गलको बीचमा अग्लो मनमोहक स्थान भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका बनेपा–६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिनुभयो । शान्त, रमणीय र मनोरञ्जन लिन आकर्षक स्थान हुनुका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने भएकाले यहाँ पर्यटकको आगमन बढ्दै गएको उहाँको भनाइ छ ।
आजै रोशी गाउँपालिका वडा नम्बर ३ मा रहेको ताराखसे लेकमा पनि ठूलो मेला लागेको छ । यहाँ पनि हरेक वर्ष जनैपूर्णिमाका दिन मेला लाग्ने गरेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया