धुलिखेल । देशभर आर्थिक मन्दीका कारण देखाउँदै घरजग्गा कारोबार घटिरहेकै बेला काभ्रेमा पनि कारोबार घटेको छ । मालपोत कार्यालय काभ्रेले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा घर जग्गाको कारोबार घटेको पाइएको हो ।
आर्थिक वर्ष ०८०/०८१ मा जिल्लामा घरजग्गा कारोबारबाट कूल ६४ करोड ६ लाख १६ हजार ४०८ रुपैयाँ राजश्व संकलन भएको थियो । तर गत आर्थिक वर्ष ०८१/०८२ मा भने करिब साढे चार करोडले राजश्व घटेको छ । यस वर्ष ५९ करोड ६१ लाख २३ हजार १०३ रुपैयाँ राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७९/०८० मा घरजग्गा कारोबारबाट कूल ५४ करोड ९५ लाख ७१ हजार ९८ रुपैयाँ राजश्व संकलन भएको थियो ।
गतवर्ष सबैभन्दा बढी बनेपा नगरपालिकाबाट राजश्व उठेको छ भने सबैभन्दा कम खानीखोलाबाट उठेको मालपोत कार्यालय काभ्रेका लेखापाल शिवराम हुमागाईंले जानकारी दिए । उठेको राजश्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित पालिकालाई नै दिइने प्रावधान अनुसार गत आर्थिक वर्षमा बनेपाले १२ करोड २९ लाख ५० हजार ४९३ रुपैंयाँ पाएको छ । यो बनेपाले संकलन गरेको कूल राजश्वको ६० प्रतिशत हो ।
आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम १२ करोड ८७ लाख ९५ हजार ५०५ रुपैयाँ थियो । यस्तै धुलिखेल नगरपालिकाले ५ करोड ८७ लाख ८६ हजार २६७ रुपैंयाँ पाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम ७ करोड ४७ लाख ६८ हजार ६६७ थियो । पाँचखालले ४ करोड ४१ लाख ४६ हजार ९५८ रुपैंयाँ पाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा पाँचखालले ८ करोड ७४ लाख ६१ हजार ४६० पाएको थियो । यसैगरि पनौतीले ५ करोड ३४ लाख ८२ हजार ८८१ रुपैंयाँ पाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा पनौतीले यस्तो रकम २ करोड ३१ लाख ७३ हजार ९८३ पाएको थियो ।
नमोबुद्धले २ करोड २६ लाख ८२ हजार १५० पाएको छ । यस नगरले आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम २ करोड ४१ लाख ८८ हजार ६९३ पाएको थियो । मण्डनदेउपुर नगरपालिकाले ३ करोड ७७ लाख ४८ हजार ९५७ रुपैंयाँ पाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा यस नगरले २ करोड ५० लाख ३८ हजार १८२ राजश्व पाएको थियो ।
यस्तै गाउँपालिकातर्फ भुम्लुले ३० लाख ८६ हजार ७१२ रुपैंयाँ पाएको छ । यस पालिकाले आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम १७ लाख २५ हजार ५२१ पाएको थियो । चौरी देउरालीले ९ लाख ५६ हजार ३७८ रुपैंयाँ पाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम १३ लाख १८ हजार ३७ रहेको थियो भने बेथानचोकले २८ लाख ७ हजार ९५८ रुपैंयाँ पाएको छ । यस पालिकाले आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम ३८ लाख ९४ हजार ४४६ पाएको थियो ।

यसैगरि खानीखोलाले ५ लाख ८५ हजार २२ रुपैंयाँ पाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम ७ लाख ४ हजार १३४ रहेको थियो । रोशीले २३ लाख ३० हजार ६६२ रुपैंयाँ पाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम ४३ लाख १९ हजार २९१ थियो । तेमालले १० लाख ६३ हजार २४१ रुपैंयाँ पाएको छ । यस पालिकाले आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम १३ लाख ८७ हजार ८५१ पाएको थियो भने महाभारत गाउँपालिकाले ९ लाख ८ हजार ७६३ रुपैंयाँ पाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा यस्तो रकम ८ लाख ४४ हजार ६२१ राजश्व पाएको कार्यालयले जनाएको छ ।
जिल्लाका १३ वटै पालिकालाई गएको राजश्वमा जम्मा ३५ करोड १४ लाख ९६ हजार ४४७ रहेको छ । गत वर्ष यस्तो रकम ३७ करोड ७६ लाख २० हजार ४०० रहेको थियो । प्रदेश सरकारको कोषमा जम्मा भएको राजश्व २४ करोड ४६ लाख २६ हजार ६५६ रहेको थियो । गत आर्थिक वर्षमा यस्तो रकम २६ करोड २९ लाख ९६ हजार ८ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ०७९/०८० मा प्रदेशले २२ करोड ५५ लाख २ हजार ९३३ रुपैयाँ पाएको थियो ।
गतवर्ष कार्यालयले संकलन गरेको पूँजीगत लाभकर भने ३५ करोड ६८ लाख ३९ हजार ९७१ रहेको छ भने अग्रिम कर २ करोड १६ लाख ६ हजार ६०३ रहेको थियो । पूँजीगत लाभकर भने स्थानीय तह र प्रदेशलाई नगइ सिधै संघीय सरकारको कोषमा जम्मा हुने गर्दछ । यो तथ्यांकले दुई वर्षको तुलनात्मक राजश्व संकलन घटेको देखिएको छ । विगत चार वर्ष पहिलेको तथ्यांकको आधारमा यो करिब आधाले घटेको कार्यालयले जनाएको छ । त्यतिबेला करिब १ अर्बको हाराहारीमा राजश्व संकलन भएको मालपोत कार्यालयको विगतको तथ्यांक रहेको छ ।
देशभर घरजग्गाको कारोबार निराशाजनक भइरहेका बेला देशमा गतवर्ष नयाँ सरकार गठन भयो । गतवर्ष राजनीतिक स्थिरता दिने भन्दै दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाएका छन् । अर्थमन्त्रीमा बिष्णु पौडेलको प्रवेश भए लगत्तै शेयर बजारमा उछाल आएको थियो । उनले अब नागरिकले आभास हुने गरि देशको आर्थिक अवस्थामा सुधार ल्याउने बताएका थिए । पौडेलले भने जस्तो त हुन सकेको छैन । घरजग्गा कारोबारमा पनि देशभरि सुधार आएन ।
सरकारले भन्ने र गर्ने तरिका सधैं फरक हुने हुँदा अहिले नै यसै हुन्छ भन्न सकिने अवस्था छैन । राजश्व संकलनको ठूलो हिस्सा घरजग्गा कारोबार भएकाले सरकारले यसमा विशेष नीति बनाएर आकर्षक प्याकेजका साथ प्राथमिकतामा राख्न जरुरी देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया