बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाको तयारी भइरहेको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्ने भएकाले मेला व्यवस्थापनका लागि तयारी गरिँदैछ ।
रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएकाले त्यहाँ पुग्न नसकेका भक्तजन काभ्रेमा रहेको गोसाइँस्थानमा मेला भर्ने गर्दछन् । गोसाइँस्थान धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्णस्थलका रुपमा रहेको भक्तजनहरुको भनाइ छ । बनेपा–६ स्थित गोसाइँस्थानमा जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको घुइँचो लाग्ने गरेको गोसाइँस्थान संरक्षण समितिले जनाएको छ । यहाँ हिन्दू, बुद्धका साथै बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
हिन्दू धर्मसंस्कारअनुसार यहाँ रहेको शिव मन्दिरमा पूजा गरी ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका ‘झाँक्री’ ढ्याङ्ग्रो बजाउँदै विभिन्न किसिमले पूजा गरी दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्नपात चढाउने, ब्राह्मण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन बाँध्ने चलन छ । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा आएर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन् ।
परापूर्वकालमा भाद्र पूर्णिमाका दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको विष बाहिर निस्कियो । त्यो विषलाई महादेवले सेवन गरेपछि विष सेवनको छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लाग्नुभयो । त्यही क्रममा महादेवको पहिलो बास बनेपा–६, गोसाइँस्थानमा भयो । बिहान भाले बासेपछि रसुवाको गोसाइँकुण्डमा पुगेर त्यहाँ त्रिशूलले घोपेर पानी निकाली पीडा शान्त पार्नुभएको किंवदन्ती छ ।
मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । बनेपाबाट उत्तर–पूर्वतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारको बीचमा रहेको धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भका कारण यो डाँडा प्रसिद्ध छ ।
बढ्दो शहरीकरण, वातावरण र ध्वनि प्रदूषणबाट शान्ति खोज्न यहाँका हरियाली वनजङ्गलको बीचमा अग्लो मनमोहक स्थान भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका बनेपा–६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिनुभयो । शान्त, रमणीय र मनोरञ्जन लिन आकर्षक स्थान हुनुका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने भएकाले यहाँ पर्यटकको आगमन बढ्दै गएको उहाँको भनाइ छ ।
यो वर्षको मेलाका लागि सबै तयारी अन्तिम चरणमा पुगेको केसीले जानकारी दिनुभयो । यसका लागि सुरक्षाकर्मीलाई पनि खबर गराइसकिएको छ भने शिरमेमोरियल अस्पताल बनेपाबाट स्वास्थ्यकर्मीहरुको टिम पनि त्यो दिन मेलास्थलमा रहने गरि व्यवस्था गरिएको छ । साथै एम्बुलेन्स र ठूलो संख्यामा स्वयंसेवकको पनि व्यवस्था गरिएको छ । भक्तजनहरुको लागि कसरी सहजरुपमा दर्शन गर्ने वातावरण बनाउने भन्नेमा वडा लागिपरेको पनि उहाँले बताउनुभयो । मन्दिरमा रंगरोगन, सरसफाईलगायतका कामहरु पनि गरिएको छ । विष्णुनारायण श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय व्यवस्थापन समिति गठन भएर आवश्यक सबै तयारी भइसकेको छ । राति जाग्राम बस्ने मेला नभएकाले स्टलहरुको व्यवस्थापन खासै छैन, तर त्यो दिनका लागि बजार राख्नेहरुका लागि भने सबै तयार गरिएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।
पर्यटकीय पूर्वाधार वनभोजस्थल, सडक, पानी, बिजुलीको सुविधाका साथै थप भौतिक संरचना निर्माण भएकाले पनि आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँस्थान रोज्ने गरेका छन् । काठमाडौँ उपत्यकाबाट २५ किलोमिटरको दूरी रहेको यो ठाउँ अरनिको राजमार्गबाट पाँच सय मिटरभित्र पर्दछ । गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ क्षेत्र जाने पक्की सडक, चण्डेश्वरीबाट दुई हजार दुई सय सिँढी निर्माण र अन्य थप भौतिक संरचना निर्माणले यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । पछिल्लो समयमा यहाँ नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टा पनि राखिएकाले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पनि विकास हुँदै गएको हो । यहाँ रामायण भजन गर्ने भवन, पक्की शौचालय, खानेपानीको सुविधालगायत पूर्वाधार निर्माण भइसकेका छन् ।
गोसाइँस्थान मन्दिर परिसर क्षेत्रमा हाल नैमिषारण्य संस्कृत गुरुकूल स्थापना भएको छ । यहाँबाट हाइकिङ गर्दै नगरकोटसम्म पुग्न सकिन्छ । तेमाल, नमोबुद्ध, धुलिखेल, गोसाइँस्थान, काशीभञ्ज्याङ हुँदै नगरकोट जोड्ने ट्रेकिङ मार्ग निर्माणका लागि बजेट विनियोजन भइ काम सुरु भइसकेको नगरपालिकाले जनाएको छ । यो वर्ष साउन २४ गते शनिबार जनैपूर्णिमाका दिन उक्त स्थानमा भव्य मेला लाग्दैछ ।
विभिन्न जिल्लास्थित क्षेत्रबाट आउने भक्तजन पैदल यात्रा गरेरै त्यहाँ पुग्न रुचाउँछन् । जात्रा अवधिभर बनेपाको बुडोलदेखिनै सडक दायाँबायाँ व्यापारिक चहलपहल पनि निकै बढ्ने गर्दछ । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित उक्त कुण्डमा कतिपय भक्तजन अघिल्लो दिनदेखि नै बास बस्न पुग्छन् । गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना, कुण्डको जलाशयमा फूल–प्रसाद चढाउँदा सम्पूर्ण देवीदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यता अनुरूप जानेलाई आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । यही दिन जिल्लाका अधिकांश शिव मन्दिरसँगै रोशी गाउँपालिका ३ स्थित ताराखसे लेकमा पनि मेला लाग्ने गर्दछ ।
फाइल फाेटाे
फेसबुकबाट तपाईको प्रतिक्रिया