बनेपा । मान्छेको मन पनि कहिलेकाहिँ अर्कै भइदिन्छ, मानौं मानवता नै हराएर शून्यतामा गए जस्तो । भनिन्छ नि, मन र मौसमको कुनै भर हुँदैन, जतिबेला पनि फेरिन्छ । आफूले माया गरेको र आफूलाई माया गरेको मान्छेको विश्वास जसलाई जतिबेला पनि लाग्छ । यो स्वभाविक पनि हो ।
आफूले दुई वर्षदेखि मन पराएको र मन साटिएको मान्छे नै आफ्नो काल बनेर आउँदैछ भन्ने लागेको भए शर्मिला उप्रेती सन्तोष सुनारको साथ लागेर घुम्न जाँदैनथिन होला । घुम्न भनेर जंगल गएका उनीहरु कतिबेर घुमे त्यो उनीहरु नै जानुन्, तर सन्तोष शर्मिलाका काल बनेर फर्किए ।

घटना असार ३२ गतेको हो । सो दिन काभ्रे जिल्लाको चाैंरीदेउराली गाउँपालिका वडा नम्बर १ डाँडाखर्क स्थायी घर भइ हाल बनेपा नगरपालिका वडा नम्बर ९ नयाँ बस्ती बस्ने कमलबहादुर उप्रेतीकी ३३ वर्षिया छोरी शर्मिला उप्रेती घरबाट हराइन् । खोजी भयो तर कुनै पत्ता लागेन । साउन ४ गते दिउँसो बनेपा नगरपालिका वडानम्बर १३ भगवानथुम्की सामुदायिक वनको भिरालोमा रहेको चिलाउनेको रुखमा कोल्टे अवस्थामा पहिचान नखुलेको महिलाको शव देखिएको खबर इलाका प्रहरी कार्यालय बनेपामा पुग्यो । तत्काल सो कार्यालयका प्रमुख रामेश्वर त्वाँतीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुग्यो ।
साथमा धुलिखेल अस्पतालको फरेन्सी डाक्टरसहितको टोलीले प्रारम्भिक अनुसन्धान गर्दा शव निज शर्मिलाको भएको पुष्टि भयो । प्राविधिक परिक्षणमा मृतकको मोबाइल फेला परेको र त्यसमा मिसकल आएको नम्बरमा सम्पर्क गर्दा शर्मिलाका बुबा कमलबहादुर उप्रेती सम्पर्कमा आएपछि उनैले शव आफ्नी छोरी शर्मिलाको भएको सनाखत गरे ।
त्यसपछि भएको शुक्ष्म अनुसन्धानमा उनका प्रेमी भनिएका रामेछाप जिल्ला साबिक फुलासी गाविस वडानम्बर २, हाल मन्थली नगरपालिका वडानम्बर १३ घर भइ बनेपा नगरपालिका वडानम्बर १० ईंटाभट्टामा लुकिछिपी बसेका तिले कामीका छोरा सुन्तोष सुनारलाई सोही दिन राति साढे ११ बजे प्रहरीले पक्राउ गर्यो । हाल जिल्ला अदालत धुलिखेलबाट ४ दिनको म्याद थप गरि उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा अनुसन्धान भइरहेको छ । निज सुनारले आफूले शर्मिलाको कर्तव्य गरि हत्या गरेको स्विकार गरेका छन् । उनले प्रहरीसमक्ष दिएको बयान अनुसार शर्मिला र सन्तोष दुवै जना ज्यामी काम गर्ने गरेका र यसै शिलशिलामा दुवैको प्रेम सम्बन्ध बसेको हो । उनीहरु पहिले नै बिहे भएकाभए पनि सन्तोषले शर्मिलालाई बिहे गर्ने प्रस्ताव गरेका थिए । तर सो प्रस्ताव शर्मिलाले नमानेपछि सन्तोषले उनका अर्कै केटा साथी भएको शंकामा हत्या गर्ने सोच बनाए ।

योजनाअनुसार उनले शर्मिलालाई घुम्न जाने भन्दै सो जंगलमा लगे, हत्या हुँदैछ भन्ने शर्मिलालाई के थाहा । शुरुमा दाउराले हिर्काए, धेरैबेरसम्म पनि शर्मिलाको ज्यान नगएपछि उनैले ओडेको सलले घाँटीमा बाँधेर सन्तोषले हत्या गरे । त्यसपछि शवलाई झुण्डिएर आत्महत्या गरेको जस्तो बनाएर फर्किए । शर्मिलाको हत्या गरिसकेपछि भने सन्तोष आफू निकैबेर रोएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । घटना विषयको जानकारी दिन सोमबार जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गरेको थियो । सो कार्यक्रममा कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरिक्षक मीनबहादुर घलेले यसको जानकारी दिनुभएको हो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रहरीले हत्यारा सार्वजनिक गरेकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।
फेसबुकबाट तपाईको प्रतिक्रिया