आज पाँच वटा प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना

279 Shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।