रसुवामा बाढीपहिरोबाट कति भयाे क्षति ?, प्रधानमन्त्रीद्वारा प्रभावित क्षेत्रकाे अवलाेकन

379 Shares

काठमाडौं । गए रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विवरण सार्वजनिक भएको छ । 

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । 

यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ जना, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्णरूपमा बन्द भएको छ । 

1751980984-rQxUa.jpg

यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्णरूपमा बन्द भएकाे छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन । 

यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई  सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताउनुभयो । “ल्हेन्दे खोलाको मितेरी पुल बगाउँदा केरुङसँगको सीधा सम्बन्ध  टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइ रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् ।

1751980985-rZ6kn.jpg

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि गएको छ । रसुवामा सोमबार राति आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत गएका छन् । बाढीग्रस्त क्षेत्रमा गएर प्रत्यक्ष अवलोकनपछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री लेखकले बताउनु भयो । रसुवामा ठूलो विपद् आएको उहाँले बताउनु भयो । बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि गएका बताइएको छ ।

1751980986-0SPV6.jpg