काठमाडौँ । बाढीपहिरोले रसुवागढी नाका हुँदै भइरहेको चीनसँगको व्यापारिक सम्बन्ध विच्छेद भएको छ ।
चीनतर्फबाट आएको बाढीले चीन–नेपाल जोड्ने ब्यापारिक नाका रसुवागढीको पुल बगाएसँगै ब्यापारिक सम्बन्ध तत्काललाई टुटेको छ भने अर्बौंको ब्यापार प्रभावित हुने देखिएको छ । गएराति आएको बाढीले मितेरी पुल बगाउनुका साथै भन्सार ड्राइपोर्टमा समेत ठूलो क्षति गरेको थियो । सोही कारण जनधनको क्षति हुनुका साथै ड्राइपोर्टमा रहेका दर्जनौंँ विद्युतीय (इभी) गाडीहरुसमेत बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
रसुवागढी नाकालाई पछिल्लो समय अत्यन्तै महत्वपूर्ण नाकाका रुपमा लिने गरिएको थियो । चीनसँगको ब्यापार गर्न सोही नाका हुँदै छोटो दूरी पर्ने भएकाले त्यहाँबाट व्यापार गर्न ब्यापारीहरुले अति सहज मान्दै आएका थिए । तथ्यांकमै हेर्ने हो भने पनि भन्सार विभागका अनुसार रसुवागढी नाका हुँदै चीनबाट चालु आर्थिक वर्षको जेठसम्म ८० अर्ब ८१ करोडको वस्तु आयात भएको छ । त्यस्तै सोही नाका हुँदै नेपालबाट चीनमा १९ अर्ब ६१ करोडको वस्तु निर्यात भएको छ ।
खासगरी चीनबाट इभि गाडी, खेलौंना, लत्ताकपडा, जुत्ता, फलफूलसहितका वस्तुहरु ल्याइन्थ्यो भने चीनतर्फ चिया, पुस्तक, छापा सामग्री, हस्तकलाका सामग्रीहरू, हस्तकला र ढुंगाका मूर्तिहरू, चित्रकलाहरू, ऊन र पश्मिना तथा तिनबाट बनेका कपडाहरू, काठका सामग्रीहरू निर्यात गर्ने गरिएको छ । पुल तथा सडक नै बगाएसँगै तत्काललाई दुई देशको व्यापारमा ठूलो असर परेको छ ।
रसुवा प्रहरीका अनुसार आज बिहान सवा तीनबजे चीनतर्फ अविरल बर्षाका कारण लेन्दे नदीमा बाढी आएको थियो । बाढीले नेपाल–चीन जोड्ने मितेरीपुल बगाएको छ । प्रारम्भिक विवरण अनुसार बाढीले रसुवा गोसाइँकुण्ड गा.पा. वडा नं.२ टिमुरेस्थित रहेको इभी चार्जिङ स्टेसनमा क्षति गरेको छ । अहिलेसम्म ८ वटा गाडीहरु बगाएको छ ।
भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको छ । ८-९ वटा लोड कन्टेनर डिब्बा बगाएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ । माथिल्लो त्रिशुली –१ जलबिद्युत आयोजनामा समेत बाढी पस्न सक्ने खतरा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया