गएरातिकाे बाढीले नेपाल-चीन जाेड्ने रसुवाकाे मितेरी पुल बगायाे, ठूलो क्षति भएको आशंका (भिडियाे)

410 Shares

काठमाडौँ । गएरातिकाे अविरल वर्षाले भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको छ । तिब्बतबाट बग्दै आएको नदीमा आएको बाढीले नेपाल-चीन नाका जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकाे छ ।

नदीमा आएको बाढी टिमुरेस्थित भन्सार यार्डमा समेत पसेको छ । बाढीले यार्डमा रहेका केही मालबाहक कन्टेनरसमेत बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

उता जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अत्यधिक वर्षा भएको जानकारी दिएको छ। प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आउँदा रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति भएको छ । बाढीसँगै पुल बगाएपछि नेपाल–चीन स्थलमार्ग अवरुद्ध बनेको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला