
काठमाडौँ । काठमाडौँ उपत्यकासहित शुक्रबार देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ ।
उपत्यकामा मध्यम वर्षा भएको छ भने सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार शुक्रबार साँझ उपत्यकाको पानीपोखरी क्षेत्र र आसपासमा पछिल्लो १२ घण्टामा १५.६ मिलीमिटर वर्षा भएको छ । बूढानीलकण्ठ, तारकेश्वर क्षेत्रमा समेत वर्षा भएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ काठमाडौँको विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको थियो ।
पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ७६.४ मिलीमिटर वर्षा भएको छ । सोही जिल्लाको शेरमानथानमा ५५.६ मिलीमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । दोलखाको जिरीमा ४४.८, सोलुखुम्बुमा ३५.६ र झापाको केचनाकवलमा ३३.४ मिलीमिटर वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया