
काभ्रे । जिल्लामा बाढीपहिरो लगायतका विपद्का घटनाबाट बाली क्षति पूगेका किसानहरुलाई राहत रकमका लागि सिफरिस गरिएको छ ।
बाढी पहिरोलगायत अन्य विपदबाट प्रभावित भएर जिल्ला कृषि विकास कार्यालय काभ्रेमा आवेदन दिएका ३५९ जना किसानले राहत पाउने भएका हुन् । कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार विशेषगरि गत असोजको र हालै वैशाख २८ को वाढीले धेरै क्षति पुगेका पनौती, बेथानचोक र रोशीका किसानले कार्याविधीअनुरुपको राहत रकम पाउने भएका हुन् ।
बागमति प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि २०८१ अनुसार प्रदेश सरकारले सूचना जारी गरेको थियो । यसमा सम्बन्धित वडा र पालिकाबाट सिफारिसलगायत अन्य सबै मापदण्ड पूरा भएको आधारमा किसानहरु छनौट भएका थिए ।
यसमा खाद्यान्न बालीको क्षति भएको खण्डमा प्रतिरोपनी १ हजार ५००, तरकारी बालीको क्षति भएको भए प्रतिरोपनी २ हजार ५००, फलफूलको क्षति भएको खण्डमा प्रतिरोपनी ५ हजार र संरक्षित संरचनाहरु/टनेलको क्षति भएको भए प्रतिवर्गमिटर १४० रुपैंयाँका दरले राहत उपलब्ध हुनेछ ।
यसरी सबै प्रक्रिया पुगेका पहिलो लटका १०७ जना किसानले ३१ लाख ३२ हजार ४५० र दोस्रो लटमा परेका २५२ जनाले ४६ लाख ४७ हजार १२० गरि कूल ३५९ किसानले जम्मा ७७ लाख ७९ हजार ५७० राहत पाउने कार्यालयका प्रमुख दवाडीले जानकारी दिनुभयो । यो रकम क्षतिका आधारमा निकै कम भएको भए पनि सरकारले दिने निश्चित राहतको रुपमा मात्र उपलब्ध हुने र यसको सबै प्रक्रिया पुगिसकेकाले प्रदेश सरकारले सम्बन्धित किसानको बैंक खातामा केही दिनमै पठाउने पनि उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया