धुलिखेल नगरपालिकाकाे आयाेजनामा असार २६ र २७ गते रोजगार मेला हुने (भिडियाे)

453 Shares

काभ्रे । आगामी असार  २६ र २७ गते धुलिखेलमा रोजगार मेला हुने भएकाे छ । धुलिखेल नगरपालिकाकाे आयाेजनामा रोजगार मेला हुने भएको हाे । प्रधानमन्त्री रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत रोजगार मेला आयोजना गरिएको बिहीबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइयाे ।

मेलाले रोजगारी सिर्जना, क्षमता पहिचान, रोजगारदाता र बेरोजगारको तथ्यांक संकलन, अन्तर निकाय समन्वय र सहजीकरणमा सघाउने आयाेजक धुलिखेल नगरपालिकाकाे  विश्वास छ ।

सीप र क्षमता अनुसारको रोजगारी उपलब्ध गराउने उद्देश्यले दुई दिने रोजगार मेला आयोजना गरिएको सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ३ का वडाअध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयाे । एक सयभन्दा बढीलाई नयाँ रोजगारीको अवसर सिर्जना गर्ने गरि थालिएकाे मेलामा हालसम्म ७० भन्दा बढी कामदारको माग भइसकेको उहाँकाे भनाइ छ ।

मेलामा रोजगारदातासँग प्रत्यक्ष कुराकानी, करियर काउन्सिलिङ लगायत स्थानीय उत्पादन, स्थानीय खानाका परिकार, स्वस्थ शहरबारे जानकारी लगायतका स्टलहरु रहने रोजगार संयोजक सम्झना शर्मा नेपालले जानकारी दिनुभयाे । राेजगारदाता र बेरोजगारबीच समन्वय गराउन धुलिखेल नगरपालिकाले रोजगार मेलाकाे  आयोजना गरिएको उहाँको भनाइ छ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका नमूना रोजगार केन्द्रको रुपमा छनौट भएको छ । छिमेकी पालिकासँगको समन्वयमा बढीभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने गरि काम गरिरहेको नगरपालिकाले जनाएको छ । रोजगार मेलामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका सम्भावनाबारे समूहगत छलफलसमेत हुनेछ । 

नगरपालिकाले प्रदान गरेको सीपबाट उद्यमी बनेकाहरुको सीपसमेत मेलामा प्रदर्शन गरिने धुलिखेलका  प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीकाे भनाइ छ। मेलामा विभिन्न स्टलहरु पनि रहने पत्रकार सम्मेलनमा जानकारी दिइयाे । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला