सडक र राष्ट्रिय आयोजना निर्माण सरकारको प्राथमिकतामा

291 Shares

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता दिइएको बताउनुभएको छ । बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले द्रुतमार्ग (फास्ट ट्र्याक)निर्माण सम्पन्न गर्न २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनु भयो । जुन गत वर्षको तुलनामा २ अर्ब रुपैयाँले बढी हो । मन्त्री दाहालले गत वर्षको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै त्यसको पुर्ननिर्माणको लागि १९ अर्ब स्रोत सहमति पाएको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो बजेटको विनियोजन राष्ट्रिय राजमार्गहरु , राष्ट्रिय गौरवका आयोजनाहरु , राष्ट्रिय महत्वका आयोजनाहरु, रणनीतिक महत्वका आयोजनाहरु र अहिले निर्वाचन रणनीतिक सडकहरुलाई पनि प्राथमिकताका साथ समानुपातिक ढंगले सबै निर्वाचन क्षेत्रमा विनियोजन गरेको हुँदा यसलाई पनि राखेको छु । हामीले फास्ट ट्र्याकमा २४ अर्ब ४९ करोड ४७ लाख रकम विनियोजन गरिएको छ । बजेट अर्थमन्त्रालयमार्फत विनियोजन भएको भएपनि सिलिङ चाँही हाम्रो मन्त्रालयमार्फत हुन्छ । यो वर्ष फास्ट ट्र्याकमा गतवर्षभन्दा २ अर्ब बढी बजेट विनियोजन गरीएको छ । गत वर्षको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण ठुलो क्षती भयो । त्यसले पुर्वाधारहरुमा समेत क्षति पुर्याएको हुँदा १९ अर्ब स्रोत सहमति दिएको थियो ।’ बजेट विनियोजनको परम्परागत शैलीमा परिवर्तन गर्न नसकिएकोमा आफूलाई दुःख लागेको समेत मन्त्री दाहालको भनाइ छ ।