कैलालीको मुक्त कमैया शिविर वर्षेनी डुबानमा, बासिन्दाको पीडामा सरकारी बेवास्ता

318 Shares

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१ मा रहेको मुक्त कमैया शिविर यस वर्ष पनि डुबानमा परेको छ। 

असार १५ गते रातिदेखि लगातार परेको अविरल वर्षाका कारण बस्ती जलमग्न हुँदा बासिन्दाहरूको दैनिकी अस्तव्यस्त बनेको हो । डुबानका कारण घरभित्र पानी पसेको छ भने खानेपानी र सरसफाईको समस्या बढेको छ । बस्तीभर फोहोर पानी र हिलो जम्दा बालबालिकादेखि वृद्धवृद्धासम्म स्वास्थ्य जोखिममा परेका छन् । 

वर्षेनी डुबानमा पर्दै आएको शिविरमा सम्बन्धित निकायको ध्यान अझैसम्म नपुगेको बासिन्दाहरूले गुनासो गरेका छन् । हरेक वर्ष यस्तै हुन्छ । डुबान आउँछ, पानी पस्छ, तर कसैले नहेर्ने गरेको गुनासो स्थानीयको छ । समस्या समाधानका लागि पटक–पटक माग गरेपनि सुनुवाई नभएको स्थानीय बासिन्दा सिंहबहादुर चौधरीले बताउनु भयो । घरमै पानी पस्दा खाना पकाउने, सुत्ने र बालबालिका राख्नसमेत समस्या परेको उहाँको गुनासो छ । 

अर्का स्थानीय बासिन्दा खड्क चौधरीले  बस्तीको पूर्वाधार कमजोर भएकाले सामान्य वर्षामा समेत डुबानको समस्या उत्पन्न हुँदै आएको बताउनु भयो । घरभित्र पानी पसेर समस्या भएको बताउनु भयो । बजारको क्षेत्रमै भएको उक्त बस्ती नै प्रत्येक वर्ष डुबानमा पर्दै आएको स्थानीयबासी दलबहादुर बोहराको दुखेसो छ । १–२ सय घरधुरी भएको उक्त बस्तीमा डुबानको समस्या समाधानका लागि अहिलेसम्म स्थानीय निकाय वा सम्बन्धित निकायबाट कुनै पहल नहुँदा बासिन्दा अझै थप पीडामा परेको उहाँको गुनासो छ । 

शिविर क्षेत्रभित्र पानी जमेर सरसफाई र स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । तत्काल राहत र दीर्घकालीन व्यवस्थापनको माग शिविर वासीहरूले गरेका छन् ।