बेथानचोक । काभ्रेकाे बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख ५ हजार ३ सय ४४ रुपैयाँको बजेट प्रस्तुत गरेकाे छ । पालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले साे रकम बराबरकाे बजेट मंगलबार प्रस्तुत गर्नुभएकाे हाे ।
गत असोज १०, ११ र १२ गतेकाे अविरल वर्षापछि गएको बाढी–पहिरोले क्षतिग्रस्त बनेको बेथानचोक गाउँपालिकाले एक वर्ष नपुग्दै ३ सय ७२ किलोमिटर सडक मर्मत गरेको जनाएकाे छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसको जानकारी दिनुभएकाे हाे ।
प्रदेश तथा संघ सरकारसँगको समन्वयमा पूर्वाधार निर्माण कार्य थप अगाडि बढाइने उहाँले बताउनुभयाे । मंगलबार सत्रौं गाउँसभामा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयाे । विपद्ले राजश्व संकलनमा कमी ल्याएको र प्रदेश तथा संघीय सरकारबाट प्रतिबद्धताअनुरुप राजश्व बाँडफाँटको रकम तथा समानीकरण अनुदान प्राप्त नभएको हुँदा बेथानचोक सरकार व्यापक बजेट घाटामा रहेको उहाँले बताउनुभयाे ।
सरकारले कृषि र पशुपालनमा सुधार, पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणमा जोड दिनेगरी बजेट ल्याएको छ । विदेशबाट फर्किएका युवालाई ४ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण उपलब्ध गराउने पालिकाले घोषणा गरेकाे छ । त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र बजारीकरणमा टेवा दिने गरी कोशेली घर स्थापना, माटो परीक्षण गरी वैज्ञानिक खेती, रैथाने बाली प्रवर्द्धन र बिउ बैंक बिस्तार गर्नेजस्ता कार्यक्रम ल्याइएका छन् ।
छिमेकी स्थानीय तहहरुसँगको समन्वयमा पूर्वाधार निर्माण कार्यलाई थप अगाडि बढाइने, उज्यालो बेथानचोक अभियान अन्तर्गत सोलार बत्ती जडान गर्नेलगायत कार्यक्रम राखिएको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताउनुभयाे ।
बेथानचोकलाई हाइकिङ सिटीको रूपमा विकास गर्ने, तीनतले झरना र वैश्णव पार्कको स्तरोन्नति गर्ने, पदमार्गहरूको विकास गर्ने जस्ता कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश छन्। यस्तै शिक्षा क्षेत्रमा विद्यार्थीको प्रोत्साहनका लागि छात्रवृत्ति, छोरी बुहारीलाई निःशुल्क शिक्षाको व्यवस्थालगायत पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । शिक्षकको क्षमता विकास, प्रविधिमैत्री शिक्षण, स्वास्थ्य क्षेत्रमा २४ घण्टा सेवा, विशेषज्ञ स्वास्थ्य शिविर, नसर्ने रोग नियन्त्रण जस्ता कार्यक्रमहरूले पनि निरन्तरता पाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया