मण्डनदेउपुर । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं.–१० स्थित चण्डेनीमण्डन साना किसान कृषि सहकारीले आफ्नो कार्यक्षेत्रभित्रका शेयर सदस्य किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको छ ।
संस्थाको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच कृषि विकास कार्यालय काभ्रे र प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजनाको सहयोगमा शुक्रबार ती औजार वितरण गरिएको हो । वागमती प्रदेशका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा मिनीटिलर १६ वटा, पावरटिलर १, टु इन वान इलेक्ट्रिक स्पेयर ८ वटा, इलेक्ट्रिक कम्बाइन मिल ११, च्याफकटर ५ वटा, पिठो पिस्ने मेसिन ३ वटा, सिल्क पोलिथिन त्रिपाल ५० वटा, ३०० केजी धानको बीउ र सुक्ष्म खाद्यतत्वलगायत कृषि सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष सुमन नेपालले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी लम्साल, जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोक, काभ्रेका प्रमुख सुरेन्द्रप्रसाद पोखरेल, मण्डनदेउपुर सहकारी समन्वय संयोजक केशवप्रसाद सापकोटालगायतले उल्लेखित कृषि सामाग्री वितरण गर्नुभएको हो । कार्यक्रममा संस्थाका गतिविधीहरुका बारेमा अध्यक्ष सुमन नेपालले जानकारी दिनुभएको थियो भने उपस्थितहरुलाई संस्थाकी उपाध्यक्ष विमला श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी लम्सालले अब विशेष कार्यक्रम ल्याएर आधुनिक खेती नगर्ने हो भने देशका अधिकांश खेतीयोग्य जमिन बाँझै रहने अवस्था आउनेतर्फ सचेत गराउनुभयो । संसारका विकसित देशहरुले कृषिलाई प्रमुख प्राथमिकता दिएका भएपनि नेपालमा हालसम्म त्यो सम्भव नभएको र कृषि व्यवसायिकभन्दा पनि निर्वाहमुखी मात्र भएकाले किसानको अवस्थामा सुधार आउन नसकेको बताउनुभयो । कृषि कार्यालयका प्रमुख दवाडीले स्वदेशमै केही गरौं भन्ने सोच भएर कृषिमा लागेका युवाहरुलाई स्थानीय तहले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका सहकारी संयोजक केशव सापकोटाले चक्लाबन्दी कार्यक्रम ल्याएर नगरपालिकाले बीउ उत्पादन गर्नुपर्नेमा जोड दिँदै यसो गर्न नसकेमा बीउ र मलको अभावले अब खेती गर्नै नसक्ने अवस्था आउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । वडा नम्बर १० का वडाध्यक्ष कुमार तामाङले किसानमुखी कार्यक्रममा वडा सधैं तयार रहेको बताउँदै रैथाने बाली संरक्षणमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुमन नेपालले संस्थाले शुरुदेखि नै किसानमुखी कार्यक्रम मात्र गरिरहेको जानकारी दिँदै संस्थाका वार्षिक गतिविधीहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले दिनुभएको जानकारी अनुसार संस्थाको प्रतिसदस्य मासिक बचत न्यूनतम २०० रुपैंयाँ राखिएको छ । यस्तै सदस्य संख्या १ हजार ३२ रहेको छ । जसमा महिलाको संख्या ७२४ र पुरुष सदस्य ३०८ जना रहनुभएको छ भने संचालक समितिका सदस्य ९ जनामध्ये ८ जना महिला नै रहनुभएको छ ।

गत पुससम्म संस्थाको शेयरपूँजी ४३ लाख ७७ हजार ७०० र निक्षेप १ करोड १८ लाख ९० हजार ४९८ रुपैयाँ रहेको छ । ऋण लगानी २ करोड ५३ लाख ८२ हजार ७१२ रुपैंयाँ रहेको पनि कार्यक्रममा जानकारी दिइयो । संस्थाले यसअघि पनि विभिन्न चरणमा किसानहरुका लागि कृषि औजारहरु ट्याक्टर, स्पेयर पम्पलगायत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आइरहेको थियो । यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तर रहने संस्थाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया