बनेपा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

395 Shares

काभ्रे । बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। 

नगरसभाको १६ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्तुत गरिएकाे हाे । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित उद्यम विकासलाई प्रोत्साहन गरिने बताउनुभयाे । उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान, सीप, र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै  नगर क्षेत्रभित्र रात्रिकालिन व्यवसाय सञ्चालनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक समन्वय गरिने नगरपालिकाले जनाएको छ । 

सहकारी संस्थाहरुको साख जोगाउन तथा बचतकर्ताहरुको बचतको सुरक्षा प्रत्याभुतिका लागि कानुन विपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने छ भने निष्कृय रहेका सहकारीलाई खारेज गरिने नगरपालिकाले जनाएकाे छ । नयाँ सहकारी दर्ता नगर्नेसमेत नगरपालिकाले नीति लिएको छ। नगरभित्र सञ्चालित विद्यालयहरु मध्ये कक्षा ५, ८, १० र १२ को नतिजाको आधारमा बढीमा ४ वटा विद्यालयलाई नगदसहित मेयर उत्कृष्ट शैक्षिक पदकबाट सम्मान गरिने कार्यक्रम सञ्चालन हुनेछ । 

बनेपाको अभियान, प्रतिभा पहिचानका लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ भने एक वडा एक खेल मैदान योजनालाई निरन्तरता दिइएको छ । सबै स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था बनाइनेछ । 

गुणस्तरीय खानेपानी सुविधा सुनिश्चित गर्न प्रयोग भइरहेका स्थानीय पानीका स्रोतहरुको संरक्षण गर्ने र सम्भाव्य थप स्रोतहरुको उपयोग गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख शाक्यले बताउनुभयाे । ज्येष्ठ नागरिककको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

नगर सभामा उपप्रमुख विमला सापकोटाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित आर्थिक विधेयक पेश गर्नुभयाे। विधेयक पेश गर्दै उहाँले अन्य निकायमा दर्ता भएका तर बनेपा नगरपालिकाको करको दायरामा नआएका करदाताहरुको हकमा आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने बताउनुभयाे ।