चोरमारा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गको यातायात अवरुद्ध

373 Shares

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारा पुल भाँचिदा नारायणगढ—बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।

मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारको पश्चिमतर्फ रहेको गिरुबारी पुलको पूर्वतर्फको बायाँ भाग भाँचिदा अहिले पूर्व-पश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । लोड गाडी पुलबाट पास हुने क्रममा पुल लच्किएर डेढ फिट तल झरेको प्रहरीले जनाएको छ । पुल भाँचिएपछि पूर्व–पश्चिम हिँडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ । 

वीरेन्द्रनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २१३१ नं.को बस बिग्रेको(पट्टा भाँचिएको) कारण दिउँसो राजमार्ग एकतर्फी भएको थियो । म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट वीरगञ्जतर्फ जाँदै गरेको टेलर लगायत अन्य सवारी साधनहरु होल्ड हुँदा सवारी साधनहरुको लोडको कारण गिरुवारी खोलाको पुलको विच भाग दबिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालले बताउनु भयो । 

४ महिना अघि लोड सवारी साधनका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्किबारमा सोहि प्रकृतिको विनयी पुल भाँचिएको थियो ।