काभ्रेमा नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपी लिनेको संख्या बढी

447 Shares
  • ज्ञानमणि नेपाल कालोटोपी

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या बढी देखिएको छ । 

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ६ हजार १७१ नयाँ नागरिकता जारी गरिएको छ । जसमा चैत महिनामा मात्र ६९१ जारी भएका छन् । यहि अवधिमा नागरिकताको प्रतिलिपी लिनेको संख्या ७ हजार ९१ छ भने चैतमा मात्र ८५६ जनाले नागरिकताको प्रतिलिपी लिएका छन् । 

पुरानो हस्तलिखित नागरिकता खुइलिने र बिग्रने गरेका र सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यसका लागि आउनेहरु बढ्दै गएका कारण कतिपय पुरानो नागरिकतामा त्रुटीहरु फेला परेका छन् । जसले गर्दा पछिल्ला केही महिनायता नागरिकताको प्रतिलिपी लिनेहरु बढेको जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताउनुभयो । उहाँका अनुसार पहिले गाउँमा टोली गएर बनाएका नागरिकतामा कतै उमेर, कतै थर र कतै नामै गल्तीहरु पाइएका छन् । यी गल्तीहरु सुधार गर्नुपर्दा प्रतिलिपी लिनेहरुको संख्या बढेको हो । 

गत साउनदेखि चैतसम्मको अवधिमा नागरिकता परित्याग गर्नेको संख्या चैतमा ९ सहित ५३ पुगेको छ भने सोही संख्यामा गैरआवासीय नागरिकता जारी भएको छ । चार वटा नागरिकता रद्द र दुई वटा अंगिकृत नागरिकता जारी गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको चैतसम्ममा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या १८ हजार ६४३ रहेकोमा चैत महिनामा मात्र यो संख्या २ हजार ९२६ रहेको छ भने यही अवधिमा १२ हजार २९० कार्ड वितरण भएका र चैतमा मात्र १ हजार ३८ कार्ड वितरण भएको छ । दलित र जनजाती परिचयपत्र १८९ वटा जारी भएका छन् । 

यस्तै ११ हजार ७० वटा राहदानीको निवेदन दर्ता भएको प्रशासनमा १२ हजार १०४ कार्ड वितरण भएको छ । चैतमा मात्र १ हजार १४७ निवेदन दर्ता भएकोमा १ हजार ३९२ कार्ड वितरण भएको छ । नाबालक परिचयपत्र ५२४ वटा जारी भएकोमा चैतमा मात्र ४८ वटा जारी भएको पनि प्रशासन कार्यालयले जनाएको छ । यसैगरि ६३ वटा मुद्दा दर्ता भएका छन् भने ४१ वटा फर्स्याैट भएका छन् । कार्यालयमा चैतमा ८ वटा मुद्दा दर्ता र ११ वटा फर्स्याैट भएका छन् । यस्तै ठाडो उजुरी ३०९ वटा दर्ता हुँदा २९७ वटा फर्स्याैट भएका छन् । कार्यालयमा यसवर्ष २८ वटा नयाँ संघसंस्था दर्ता भएका छन्, २११ वटा नवीकरण भएका छन् भने १९ वटा हातहतियार नवीकरण भएका छन् । 

यसैगरि कार्यालयबाट कारागार निरिक्षण दुई पटक, सरकारी कार्यालय अनुगमन ८ पटक, प्रहरीलगायत सुरक्षा निकायको अनुगमन ८ पटक, विकास आयोजना अनुगमन १८ पटक र संघसंस्था अनुगमन ३० पटक गरिएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबीचमा जिल्ला सुरक्षा समितिको बैठक ३६ पटक बसेको छ भने जिल्ला विपद् व्यवस्थापनसँग सम्बन्धित बैठक १५ पटक बसेको छ । कार्यालयले शहीद परिवार, द्वन्द्व पीडित परिवार र वैदेशीक रोजगार पीडित परिवारलाई ७७ लाख ३४ हजार ९१६ रुपैयाँ राहत वितरण गरेको छ । विपदमा परेकाहरुका लागि २ करोड ४० लाख ५५ हजार राहत वितरण गरिएको छ । 

यो समय अवधिमा कार्यालयले कूल १३ करोड ४३ लाख १९ हजार ८०० राजश्व संकलन गरेको छ भने चालु खर्च ४ करोड ८५ लाख ६ हजार १५४, पूँजीगत खर्च २० लाख ५ हजार ५८२ र विविध खर्च १२ करोड १२ लाख ९४ हजार ९०४ रुपैयाँ भएको छ । धरौटी विवरणबाट आम्दानी ६ करोड ६८ लाख ६५ हजार ७०२ प्राप्त भएको छ । यसबीचमा १४८ जना विशिष्ठ व्यक्तिको भ्रमण भएका छन् । 

यसैगरि जिल्लाभर ५१४ वटा आपराधिक घटना भएका छन् । जसमा ६५ वटा चैत महिनामा मात्र भएका थिए । ७ जनाको हत्या हुँदा ८६ वटा आत्महत्याका घटना भएका छन् भने प्राकृतिक प्रकोपका घटना ४९ वटा भए । जसमा ८१ जनाको मृत्यु भएको र ९७ जना घाइते भएको कार्यालयले उल्लेख गरेको छ । यसैगरि लागूऔषध जफतका ७ वटा मुद्दा दर्ता हुँदा ११ जना पक्राउ परेका छन् । ३६२ वटा पसल र फर्मको अनुमगन भएको र १५ वटालाई जरिवाना र कारबाही गरिएको छ । जरिवाना बापत ११ लाख एक हजार संकलन भएको छ । १४९ वटा फर्म र पसलबाट सामान जफत गरिएको र जसको मूल्य ७ लाख ४९ हजार ३२० रहेको पनि कार्यालयले जनाएको छ । यस अवधिमा कार्यालयले ८ वटा ड्रोन उडान अनुमति दिएको छ ।