सिङ्गो विपद्को क्षेत्रलाई बीमाको दायरामा ल्याउन आवश्यकः कार्यकारी प्रमुख भट्ट

367 Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनको सचेतना जगाउन मुख्यमुख्य पाँच भाषामा सन्देशहरु निर्माण गर्ने बताउनुभएको छ। 

बुधबार सिंहदरबारमा आयोजित तातो हावाको लहर ‘लू’ को प्रभाव र पूर्वतयारी विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जुन ठाउँमा कर्मचारी कार्यरत हुन्छ त्यहीँ ठाउँमा विपद् व्यवस्थापन पूर्वतयारीका सन्देशहरु प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले हाल सामान्य वर्षा भइरहे पनि वर्षा रोकिएको केही दिनमै तातो हावा चल्न सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताउनुभयो । 

उहाँले लू का कारण तराईमा पशुचौपाया मर्ने गरेकोप्रति विशेष ध्यान दिनुपर्ने बताउनु भयो । पशुचौपाया मर्दा किसानले बिस्तारै पशुपालन छोड्न सक्ने भएकाले किसानको क्षतिपूर्ति र राहतका लागि पशु तथा कृषि बीमाको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद्का सबै क्षेत्रलाई बीमाको दायरामा ल्याउन बीमा कम्पनीहरुसँग सरकारले मध्यस्तता गर्नुपर्ने बताउनु भयो ।

कार्यकारी प्रमुख भट्टले तातो हावाका लहर लू तराई क्षेत्र हुँदै दिपायल, दाङको तुलसीपुर लगायतका उपत्यकाहरुमा पनि शुरु भइसकेकाले सजग हुनुपर्नेमा जोड दिनुभयो ।