‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ आज विभिन्न कार्यक्रम गरी मनाइँदै

440 Shares

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

‘विश्वसनीय सूचनाको आधारः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना हुँदैछ । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ ।

मन्त्रालयका अनुसार सो समारोहमा नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिने छ । पुरस्कारको राशि दुई लाख र कदरपत्र रहेको छ ।

यस्तै एक लाख र कदरपत्रसहित छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यवसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।