काठमाडौं । शनिबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका पत्रकारहरुको सबैभन्दा ठूलो छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ(आईएफजे)संग आबद्ध दक्षिण एशियाका पत्रकारहरुका संगठनहरुको सञ्जाल(साउथ एशियन मिडिया नेटवर्क)ले आजै दक्षिण एशियाको प्रेस स्वतन्त्रताको अवस्थाको बारेमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया